विदेशी लडाकूलाई आ–आफ्नो देश फर्कन बग्दादीको आदेश



कायरो, (एजेन्सी)
आईएस प्रमुख तथा खलिफा अबु बंक अल बग्दादीले इराकमा आफू हार्दै गइरहेको संकेत दिएका छन्। आफ्नो ‘बिदाइ सम्बोधन मा बग्दादीले अरबका बाहिरबाट आएका लडाकूहरूलाई आ–आफ्नो देश फर्कन वा आफूलाई विस्फोट गरी उडाउन आदेश दिएका छन्। आफूलाई खलिफा घोषणा गरेका बग्दादीले आईएसका धर्म प्रचारक तथा मौलवीहरूलाई ‘फेयरवेल स्पिच को नाममा सम्बोधन पठाएका थिए।

इराकी टेलिभिजन नेटवर्क अलसुमारियालाई उद्धृत गर्दै अल अरेबियाले उक्त जानकारी दिएको हो। समाचारमा निनेवेहमा रहेको इराक सरकारको सूत्रलाई उद्धृत गर्दै बग्दादीले त्यहाँको आईएस कार्यालय बन्द गर्न आदेश दिएको उल्लेख गरेको छ। बग्दादीले अरबबाट बाहिरका लडाकूहरूलाई स्वर्गमा भेट्ने वचन दिएको र उनीहरूलाई आफ्नै देश फर्कन वा आफूलाई विस्फोट गराई अन्त्य गर्न आदेश दिएका छन्।

विरोधी सेनाले आक्रमणका क्रममा बग्दादी घाइते भएको धेरैपटक दाबी गरिसकेका छन्। उनीमाथि १ करोड अमेरिकी डलरको पुरस्कार राखिएको छ। मोसुल कब्जाका लागि भइरहेको द्वन्द्वमा बग्दादी सेनाको घेरामा परेको वा नपरेको भन्ने विषयमा प्रस्ट हुनसकेको छैन।

यसैबीच आईएसका थुप्रै नेताहरू इराकको छिमेकी सिरियामा जिहादीहरूको कब्जामा रहेको इलाकामा पुगिसकेको दाबी गरिएको छ। इराकी सेनाले गत वर्षको अक्टोबर १७ देखि आईएसविरुद्ध अभियान थालेको थियो। उसलाई अन्तर्राष्टिय तथा अमेरिकी सेनाको पनि सहयोग प्राप्त छ। जनवरीमा मात्रै इराकी सेनाले मासुलको पूर्वी हिस्सामा कब्जा गरेको थियो। मोसुल आईएसको नियन्त्रणमा रहेको इराकको अन्तिम शहर हो।

पूर्वीसिरिया र इराकको ठूलो भू–भागमा आईएसको कब्जापछि बग्दादीले आफूलाई सन् २०१४ मा खलिफा घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्