स्मसानघाटको निहुँमा झडप



इटहरी, (नेस)
सुनसरी जिल्लाको सदरमुकाम इनरुवासँगै जोडिएको नरसिंह–४ मा रहेको सुनसरी खोला किनारमा रहेको ऐलानी जमिनमा स्मसानघाट प्रयोग गर्ने विषयमा बढेको विवाद दोहोरो झडपमा परिणत हुँदा दुई दर्जनभन्दा बढी मानिस घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ।
घटनास्थलमा अरु सम्भावित अप्रिय घटना हुन नदिनका लागि सशस्त्र र जनपद प्रहरीको ठूलो संख्याका सुरक्षाकर्मी परिचालित भएका छन्। गम्भीर घाइतेमध्ये एक दर्जनलाई विराटनगरस्थित न्युरो अस्पताल पुर्याइएको प्रहरीले जानकारी दिएको छ।

अन्य केही घाइतेलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र केहीको जिल्ला अस्पताल इनरुवा र आसपासका स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको छ।

स्मसानघाट प्रयोग गर्ने विषयमा बिहान ९ बजेतिर स्थानीय चिया पसलमा कुराकानी एवम् संवाद चलिरहेका बेला एक्कासि ढुंगा प्रहार भएपछि मुस्लिम समुदाय र यादव समुदायबीच दोहोरो झडप उत्पन्न भएपछि तत्कालै सुरक्षाका लागि त्यहाँ पुगेको सशस्त्र र जनपथ प्रहरीको टोलीले स्थितिलाई नियन्त्रणमा लिएको घटनास्थलमा रहनुभएका सशस्त्र प्रहरी नायब उपरीक्षक दलबहादुर श्रेष्ठले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्