पाँच सय युवतीको उद्वार



इलाम, २१ फागुन । माइती नेपाल पशुपतिनगरले पाँच वर्षमा दलालको प्रलोभनमा परी भारत जान लागेका पाँच सयभन्दा बढीको इलामको पूर्वी सीमावर्ती नाकाबाट उद्वार गरेको छ ।

माइती नेपाल इलामका अनुसार सन् २०१२ देखि सन् २०१६ सम्ममा पाँच सय ५० जनाको उद्वार गरेको हो । माइती नेपालका संयोजक होम ढकालका अनुसार सन् २०१२ मा एक सय एक, सन् २०१३ मा ८८, सन् २०१४ मा सय, सन् २०१५ मा ९१ र सन् २०१६ मा १७० जनाको उद्धार गरिएको हो । नाकाबाट उद्वार गरिएकामा १६ देखि २५ वर्ष उमेर समूहका युवती रहेको जनाएको छ ।

नाकाबाट उद्वार गरिएका धेरैजसो अविवाहित, मावि र क्याम्पसमा अध्ययनरत युवती रहेको माइती नेपालको तथ्याङ्कमा उल्लेख छ । भूकम्प, बेरोजगारी, पढाइमा असफलता लगायतका कारणले मानव बेचबिखन तथा ओसारपसारको जोखिम बढेको संयोजक ढकालको भनाइ छ ।

राष्ट्रपति रनिङ सिल्डको उपाधि भानुभक्त माविलाई

इलामको साँखेजुङस्थित नेपालटार माविको खेलमैदानमा सम्पन्न नवौँ राष्ट्रपति रनिङ सिल्डको उपाधि भानुभक्त मावि मङ्गलबारेले हात पारेको छ ।

प्रतियोगितामा एक सय ४२ अङ्क प्राप्त गर्दै भानुभक्त माविले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । चिसापानीको जनता मावि एक सय ३३ अङ्कसहित दोस्रो र एकतप्पाको जनकल्याण मावि दोकानडाँडाले ८६ अङ्कसहित तेस्रो स्थान हासिल गरेको छ ।

दोस्रो र तेस्रो हुनेले क्रमशः १२ हजार र नौ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । विजयी विद्यालयका विद्यार्थीलाई जिल्ला शिक्षा समिति अध्यक्ष एवम् स्थानीय विकास अधिकारी ध्रुबबहादुर खड्काले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

प्रतियोगितामा भलिबल, एथ्लेटिक्ससहित मार्सल आर्टसम्बन्धी खेल भएको थियो । जिल्लास्तरीय प्रतियोगिता हुनुपूर्व जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा छनौट प्रतियोगिता सञ्चालन गरिएको थियो । जसमध्ये क्षेत्रबाट छनौटमा परेका २५ विद्यालयका दुई सय विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष जितबहादुर राईले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्