बनारस पुग्दा, घुम्दा र कार्यक्रममा रमाउन पाउँदा …

मोहन दुवाल

बनारसका गल्लीहरू निकै अनौठा लाग्दा देखिँदा छन्। नागबेली परेका थुप्रै गल्लीहरू व्याप्त छन् बनारसमा। छाडा गाई–गोरुको साम्राज्य छ। साँघुरा गल्लीहरू छन्। बग्रेल्ती मान्छेहरू हिँहिरहन्छन्, त्यहीँ मोटरबाइकहरू हुँइकिरहेछन्। गाई–गोरुको मलमूल यत्रतत्र छरपष्ट छन्। विभिन्न खालका पसल अटाई नअटाई बाटो ढुकेर बसेका छन्। पसले साहुजीहरू व्यापार गर्न माहिर देखिँदा छन्। बनारसका गल्लीहरू हेरेर भन्न सकिन्छ, बनारस बनारसजस्तै छ। यहाँका गल्लीहरूले प्राचीन आफ्नो अनुहार, आफ्नो रहनसहन र गतिविधि देखाइरहेछन्।

हामी अनौठो मान्दै बनारसका गल्लीहरू व्यहोरिरहेका छौं। प्राचीन नगर ‘काशी’, ‘बनारस’ र ‘वाराणसी’ का विभिन्न खालका मुख–मुद्राहरू छन्। धार्मिक नगर भएकै कारणले थुप्रै मठ–मन्दिरहरू, जैन–मन्दिरहरू, बौद्ध–स्तूपाहरू बनारसभरि यत्रतत्र देखिँदा छन्। गंगाजीको महानताको सबैले बखान गर्छन्। बनारस हिन्दु विश्वविद्यालय, सम्पूर्णानन्द विश्वविद्यालयले आफ्नो पहिचान विश्वमा देखाइदिएका छन्। बृहत् शिक्षा–योजना बोकेर देखा पर्दै आएका यी विश्वविद्यालयहरू बौद्धिक हिसाबले मात्र नभई भौतिक रूपले पनि सम्पन्न र सुदृढ रहेको देखिन्छ।

वाराणसीका रूपमा पनि प्रख्यात् काशी अर्थात् बनारसका बजारहरू प्राचीन आफ्नो अनुहारलाई बचाएर आधुनिकतामा पनि रम्न खोजेको भान हुन्छ। धूलो मनग्गे चलखेल हुने भएकोले बजार यत्रतत्र धुलाम्मे देखिँदा छन्, सफा देखिँदैन बजार। ट्राफिक जाम हुन्छन् जहाँतहीँ, ट्राफिक व्यवस्थापनको कमी छ। टेम्पु, रिक्सा र गाडाहरू भरमार चल्तीमा छन्। ट्याक्सी र कारहरूको व्यवस्थापन नगण्य देखिँदो छ। बिहान अबेरसम्म पसलहरू नखोल्ने त्यहाँको परम्परा रहेको छ। होटेलहरू पनि बिहान बन्द नै भएकोले चोक, बजारमा नै उभिएर विहानको चिया–नास्ता खानुपर्ने त्यहाँको चलन रहेछ, हामीले पनि बिहान डोसा र चामलको पीठो रोटी मानेर चाख्यौं। बिहान बनारसमा धुम्धुम्ती घुम्यौं। बिहानको घुमफिर सिध्याएर हामी धर्मशालामा नै खाना खान फक्र्यौं। हाम्रो टोलीमा नरेन्द्रबहादुर श्रेष्ठ, निरू श्रेष्ठ, सूर्यप्रसाद लाकोजू, ध्रुवकृष्ण ताम्राकार, भारती श्रेष्ठ र म थियौं।

बनारस धेरैथोकले सम्पन्न रहेर पनि केही कुरामा कमजोर पनि देखिँदो छ। घाटमा रहेका बाबाजीहरू, पुरोहितहरू र डुंगा चलाउनेहरूको व्यवहार देखेर सबैजसो पर्यटक हैरान हुने गर्छन्। ठाउँ–ठाउँमा यी हैरानीहरू हामीले पनि देख्यौं र भोग्यौं। टेम्पु, रिक्सा र गाडा चलाउनेहरू पनि कम्तीका छैनन्, मोलमोलाइ गर्छन्, बढी नै ठग्न खोज्छन्। ६०० भनेर गएको टेम्पु ड्राइभरले पछि ८५० रुपियाँ चाहिने भनेर ठूलो स्वर गर्दा हामीले रू. ८०० दिएर सम्झौता गर्न बाध्य भयौं। टेम्पु चालकहरूको मानसिकता यस्तै खालको धेरै ठाउँमा देखियो र भोगियो। मालसामानको मोलमोलाइ यहाँको विशेषता नै जस्तो देखियो।

बनारसी साडीले प्रख्यात बनारसमा साडी किन्नेहरूको हुल जताततै देखियो। मोलमोलाइको कुरा गरेर साध्य छैन। रू. १०,००० भनेको साडी रू.१२०० मा दिएको पनि देखियो। काशीको पेडा किनियो। बनारसी लड्डु चाखियो। बनारसी साडी मोलमोलाइ गर्दै पोको पार्न लगाइयो। बनारसी बाबुको रूपरङ्ग हेरियो। दूधविनायक गल्लीको चहलपहल देखियो र भोगियो। ८० वटा घाट सरसर्ती आँखामा राखियो। मनिकर्णिका घाटमा जल्दै गरेको लासको गन्ध, हुर्हुर्ती बलेको आगोको राप र मान्छेहरू नुहाउँदै र लुगा धुँदै गरेको फोहोरी गंगाजीको रूपरङ्ग पनि नियालियो। २ दिन काशीस्थित जगदम्बा धर्मशालामा बस्यौं, हामी कोही पनि काशीबासमा रमाएनौं।

माथि उल्लेख गरिएजस्तै धेरै थोकमा बनारसको कमी–कमजोरी रहे पनि यसको सार्थकता, भूमिका र महत्व आफ्नो ठाउँमा अविचलित छ। अझ भनौं, नेपालसँगको मित्रताको गाढापन बिर्सिन गाह्रो सधैंँ उच्चारण भइरहनुपर्ने एक खालको सम्बन्ध इतिहासजस्तै बनेको छ। धार्मिक दृष्टिले यस भूमि नेपालीहरूको पावन भूमि हो।

थुप्रै नेपाली मन्दिरमा, घाटमा, सडकमा, स्कुल÷कलेज÷विश्वविद्यालयमा रमेर, पढेर आफूलाई सामथ्र्य तुल्याइरहेछन् अर्थात् काममा व्यस्त देखिन्छन्। विश्वनाथ मन्दिर यहाँको हिन्दुहरूको प्रख्यात र प्रसिद्धि कमाएको मन्दिर हो। चारै दिशामा चारवटा ढोका रहेको यस मन्दिर बिहान ४ बजेदेखि रातको ११ बजेसम्म भक्तजनहरूको लागि खुल्ला राख्ने गरेका छन्। सुरक्षाका दृष्टिले चारै दिशामा बन्दुकधारी सेना÷प्रहरीहरू तैनाथ छन्। जहिले पनि भीड लागिरहने सधैँ लाइनमा भक्तजनको हुल भइरहने यस मन्दिरभित्र जानेहरूले आफ्नो साथमा मोबाइल, पेटीलगायत पर्सहरूसमेत बाहिर छोडेर जानुपर्ने नियम बनाएका छन्। सारनाथको विशेषता बौद्धमार्गीहरूको लागि मात्र होइन, सबै धर्मावलम्बीहरूको लागि पनि कौतुहल हुने ढंगले बनाइएको छ। पशुपतिनाथ मन्दिर स्थापना गरेर नेपालका कुनै राजा धर्मावलम्बीले बनारसमा नेपाललाई चिनाइदिएको छ। धार्मिक शहर काशी धर्ममा आस्था राख्नेहरूको महान् थलो अर्थात् तीर्थस्थलका रूपमा चिरपरिचित छ।

संस्कृत, शिक्षाका लागि पनि पवित्र भूमि रहेकै कारणले यस ठाउँमा आएर नेपालीहरूले संस्कृतमा मात्र नभई शिक्षामा पनि ज्ञान र हैसियत प्राप्त गरेका छन्। थुप्रै नेपालका शिक्षित समुदायहरू बनारसको शिक्षाबाट प्रभावित छन्। यसै थलोमा रहेर थुप्रैले आफूलाई सक्षम तुल्याएका छन्। हालसालसम्म पनि यहीँ अध्ययन गर्दै रहेका थुप्रै नेपालीहरूको लागि यस भूमि शिक्षा–भूमिका रूपमा प्रख्यात छ। यसैले भन्न सकिन्छ, शिक्षित र बौद्धिक समुदाय बनाउने कार्यमा बनारसले नेपाललाई ठूलो योगदान पुर्याएको देखिन्छ। कवि मोतीराम भट्टदेखि लक्ष्मीप्रसाद देवकोटा, युद्धप्रसाद मिश्रजस्ता थुप्रै प्रसिद्ध साहित्यकारहरूले बनारसमा बसेर साहित्यिक लेखन गर्नुका साथै ज्ञानको स्पर्श गरेका छन्।

राजनीतिक परिवर्तनको लागि, राजनीतिक चेतना वितरणको लागि बनारसले आफ्नो भूमिका नेपालको लागि प्रत्यक्ष र अप्रत्यक्ष ढंगले देखाएका छन्। प्रजातन्त्र, समाजवाद, स्वतन्त्रता र स्वाधीनता प्राप्तिका लागि नेपालीहरूबाट भएको आन्दोलनमा बनारसले सधैँ साथ दिएको देखिन्छ। बनारससँग गाँसिएका यी सम्बन्धहरूलगायत नेपालसँग टाँसिएका थुप्रै खालका सम्बन्धहरू रहेकै कारणले बनारस र नेपाली जनताहरूका बीच गाढा मित्रता सधैँ रहनुपर्ने देखिन्छ।

यस्तै खालका उल्लेख गर्नलायकका सम्बन्ध खोज्दै हामी बनारसमा भाइचारा सम्बन्धलाई गाढा बनाउन, नेपाली–मन र भारतीय–मनको समन्वय कायम गराउन, बाहिर बसे पनि, नेपालमा रहे पनि नेपाल र नेपालीको मर्म र अर्थलाई उच्च बनाउन, नेपाली भाषा–साहित्य र भारतीय भाषा–साहित्यको आदानप्रदान गर्न, अन्य राज्यभाषा र मातृभाषाको जानकारी गराउन र साहित्यिक पत्रकारिताको गाढा इतिहास उत्खनन गर्न हामी बनारस पुगेका छौं।

नेपाल साहित्यिक पत्रकार संघ, केन्द्रीय समितिको आयोजनामा यही फागुन ३ गते बनारसमा साहित्यिक पत्रकारिता संगोष्ठी र साहित्यिक पत्रकार सम्मान आदानप्रदान गर्न पुगेका छौं। नेपालका साहित्यिक पत्रकारको हक–हितका लागि, साहित्यिक पत्रिकाहरूको अन्वेषण र खोजीको लागि र साहित्यिक पत्रकारहरूको सम्मानको लागि गठित यस समितिले देशको ठाउँ–ठाउँमा पुगी र त्यस ठाउँका साहित्यिक पत्रकारहरूको सम्मान गर्ने परम्परा चलाइएको धेरै वर्ष भइसकेको छ। यस वर्ष हामीले यस कार्यको लागि बनारसलाई चुन्यौं।

यस अवसरमा हामीले नेपाली साहित्यिक पत्रकारिताको विकासमा बनारसको योगदान बारेको कार्यपत्र तयार गर्ने जिम्मेवारी साहित्यिक पत्रकार तथा अन्वेषक डी.आर. पोखरेललाई दियौं र भारतको बनारसमा रहेर काशीबहादुर श्रेष्ठद्वारा सम्पादित÷प्रकाशित उदय साहित्यिक मासिकको बिँडो थाम्दै निरन्तरता दिँदै आएकोले साहित्यिक पत्रकार तथा साहित्यकार दुर्गाप्रसाद श्रेष्ठलाई सम्मान गर्ने निधो बोकेर सम्मान गर्न गयौं। ८९ वर्षअघिदेखि बनारस भारत–भूमिबाट नेपाली भाषा–साहित्यको प्रचार–प्रसार र विस्तारको लागि निरन्तर योगदान पुर्याएवापत यो सम्मान संघबाट वितरण भएको र सम्मान गर्न पाउँदा संघका लागि खुशीको विषय भएको छ।

साहित्यिक पत्रकारहरूको बीचमा विदेशी भूमिमा पुगेर भारतीय नेपाली साहित्यिक पत्रकारलाई सम्मान गर्न पाउनु र साहित्यिक पत्रकारिताबारे गोष्ठी गर्न पुग्न पाउनु नेपाली साहित्यिक पत्रकारहरूको लागि नै गौरव गर्ने विषय हो, बनारसमा भएको साहित्यिक पत्रकारिताको संगोष्ठी र सम्मान कार्यक्रमले यस्तै बोध भयो।

LEAVE A REPLY