पूर्वराष्टपति मुवारकलाई सफाइ



कायरो, (एजेन्सी)
इजिप्टको उच्च पुनरावेदन अदालतले बिहीबार पूर्वराष्टपति होस्नी मुवारकलाई सन् २०११ मा भएको जनआन्दोलको दौरान प्रदर्शनकारीलाई मारेको अभियोगबाट सफाइ दिएको छ। मुवारक झन्डै तीन दशकसम्म सत्तामा रहेका थिए। उक्त अदालतले सरकारी वकिलहरूको मुवारकविरुद्धको अपिल अस्वीकार गर्दै सन् २०१४ कै उनलाई यस अभियोगबाट सफाइ दिने निर्णयलाई सदर गरेको हो।

अठार दिनसम्म चलेको अरब वसन्त आन्दोलनका बेला मारिएका करिब एक सय जना प्रदर्शनकारीका सम्बन्धित परिवारलाई क्षतिपूर्तिका लागि गरिएको माग पनि सो अदालतका न्यायाधीशले अस्वीकार गरेका छन्।

मुवारक र उनका तत्कालीन गृहमन्त्री हबिब अल एड्लीलाई सन् २०१२ मा प्रदर्शनकारीहरूको ज्यान जोगाउन नसकेको अभियोगमा आजीवन कारगार सजाय सुनाएको थियो। तर त्यसको दुई वर्षपछि अर्को अदालतले सो कानुनी कारबाहीमा प्राविधिक त्रुटि देखिएको भन्दै पुरानो निर्णय बदर गरेको थियो।

८८ वर्षीय बिरामी मुवारकलाई राजधानी कायरोस्थित सैनिक अस्पतालबाट हेलिकोप्टरमा राखेर अदालत कक्ष पुर्याइएको थियो। विगत छ वर्षदेखि उनी सोही सैनिक अस्पतालमा बस्दै आएका छन्।

त्यही उनले भ्रष्टाचारको अभियोगसम्बन्धी अर्कै मुद्दामा तीन वर्ष लामो सजाय भोगिसकेका छन्। आफ्नो पक्षमा निर्णय सुनेपछि मुस्कुराउँदै वृद्ध मुवारकले त्यहाँ उपस्थित आफ्ना करिब एक दर्जन समर्थकलाई आँखा झिम्काएका थिए।

प्रतिक्रिया दिनुहोस्