साउदी अरेबियालाई टापु बेच्ने मालदिभ्सको योजना



नयाँदिल्ली, (एजेन्सी)
मालदिभ्सले आफ्नो एउटा टापु साउदी अरेबियालाई विक्री गर्ने योजनामा रहेको जनाइएको छ। मालदिभ्सका विपक्षीहरूले सरकारको उक्त निर्णयबाट उक्त टापु राष्टमा बहाबी प्रभाव बढ्ने र देशका स्कुलहरू मदरसामा बदल्ने बताएका छन्। यसले उक्त टापुमाथि पूर्ण नियन्त्रण साउदी अरेबियाको हुनेछ।

मालदिभ्सको विपक्षी माल्दिभियन डेमोक्र्याटिक पार्टी (एमडीपी)लाई उद्धृत गर्दै सञ्चारमाध्यमले उक्त जानकारी दिएको हो। देशको २६ प्रमुख टापुमध्ये एउटा टापुलाई साउदी अरेबियालाई विक्री गर्ने निर्णय खतरनाक सावित हुन सक्ने एमडीपीले चेतावनी दिएको छ। यसले देशमा बहाबी धारणालाई प्रोत्साहन हुने पार्टीले जनाएको छ। सिरियामा लडिरहेका अन्य देशका लडाकूमा मालदिभ्सको ठूलो हिस्सा रहेको छ।

साउदी अरबका राजा बिन अब्दुलअजिज अल साउदले छिट्टै मालदिभ्सको भ्रमण गर्ने जनाइएको छ। पूर्वविदेशमन्त्री एमडी नसिमले मालदिभ्समा साउदी अरेबियाले ३ सय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको र त्यहाँका ७० प्रतिशत आवादीले बहाबी पन्थलाई अपनाइसकेको जानकारी दिए। राष्टपति अब्दुला यामिन सउदी अरेबियाबाट इस्लामिक गुरु ल्यान इच्छुक रहेको र यस निर्णयले स्कुललाई मदरसामा परिवर्तन गर्ने उनले आरोप लगाए।

पहिला मालदिभ्समा जमिन बेच्नेलाई गद्दारी मानिन्थ्यो र त्यसलाई अपराधका रूपमा लिइन्थ्यो। विदेशीलाई जमिन बेच्नेलाई मृत्युदण्डसम्मको सजाय हुन्थ्यो। सन् २०१५ मा मालदिभ्स सरकारले संविधान संशोधन गरेपछि त्यहाँ विदेशीले जमिन किन्न सम्भव भएको हो।

बहाबी सुन्नी मुस्लिम हो, जसलाई इस्लाम धर्म मान्ने विभिन्न सम्प्रदायमध्ये अत्यन्त कट्टर मानिन्छ। साउदी अरेबियाको नज्द शहरका अब्दुल बहाब नज्दीले १७औं शताब्दीमा बहाबी पन्थको थालनी गरेका थिए। भारतमा पनि बहाबी विचारधारा मान्ने मुसलमान छन्। उत्तर प्रदेशको सहानपुर जिलामा देवबन्दमा यसको प्रधानकार्यालय रहेको छ। त्यसैले यसलाई भारतमा देवबन्दी भन्ने गरिन्छ। भारतमा बहाबीलाई तब्लिगी जमात पनि भन्ने गरिन्छ।

प्रतिक्रिया दिनुहोस्