त्रिनाले अब काठमाडौंमा



विश्व कलाबजारमा कला र कलाकारलाई चिनाउने महत्वपूर्ण माध्यम बनेको काठमाडौं त्रिनाले कला उत्सव अब नेपालमा हुने भएको छ। सिद्धार्थ आर्ट फाउन्डेसनको आयोजनामा हुन लागेको त्रिनालेमा नेपालबाहेक २५ मुलुकका ६० भन्दा बढी कलाकार सहभागी हुने फाउन्डेसनका संस्थापक संगीता थापाले जानकारी गराएकी छिन्।

सिद्धार्थ आर्ट ग्यालरीमा नेपाल ललितकला पत्रकार समाज (सोफाज) द्वारा आयोजित कलाका कुरामा थापाले नेपाली कलालाई विश्वमा चिनाउनका लागि त्रिनाले गर्न लागिएको बताइन्। त्रिनालेका बारेमा चर्चा गर्दै थापाले विदेशका चर्चित कलाकारहरु उत्सवमा सहभागी हुने बताइन्। ‘यही मार्च २४ तारिखमा विश्वका विभिन्न देशबाट आएका कलाकारले रचना गरेका कलाकृति प्रदर्शनीमा राखिनेछ। जसले काठमाडौंलाई कलामय बनाउने छु’ –उनले भनिन्। १७ दिनसम्म चल्ने त्रिनालेले कला क्षेत्रमा काम गर्ने संघसंस्था, व्यक्ति, कलाकार र कलाप्रेमीका लागि कलाका बारेमा सिक्ने र बुझ्न मद्दत गर्ने थापाले बताइन्। त्रिनाले नेपाल आर्ट काउन्सिल बबरमहल, तारा गाउँ म्युजियम, सिद्धार्थ आर्ट ग्यालरी, पार्क ग्यालरीलगायतका विभिन्न आठ स्थानमा हुने समेत उनले जानकारी गराइन्।

‘नेपालमा कला ग्यालरीको निकै कमी छ यस्तोमा भूकम्पले झन गाह्रो बनाएकोप्रति संकेत गर्दै उनले थपिन्, ‘भूकम्पका कारण नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानलाई क्षति पुर्याएकाले नेपाली कलाका लागि स्पेसमा ठुलो समस्या परेको छ। कला प्रर्दशनी गर्ने राम्रो कक्षको अभावले राम्राराम्रा कला महोत्सव तथा कार्यक्रमका लागि निकै समस्या देखा परेको छ भने यिनै समस्या र चुनौतिका बीच यो कार्यक्रम आयोजना गरिएको छ’ थापाले सन् २०१५ मा नै काठमाडौ त्रिनाले हुनुपर्ने भए पनि भूकम्पका कारण हुन नसकेको जानकारी दिँदै यो कार्यक्रम हरेक तीन वर्षमा गर्ने बताइन्।

‘यो कार्यक्रम गर्नुको मुख्य उद्देश्य भनेको नेपाली कलाकृतिलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने प्रयास रहेको हो’ उनको भनाइ थियो ‘यसप्रकारका प्रदर्शनीले बाहिरका कलाकृति नेपाली भित्रिन्छन् भने यहाँको बाहिरसम्म जान मद्दत पुग्छ।’ त्रिनालेमा चीन, जापान, बेलायत, अमेरिका, युरोपलगायतका २५ मुलुकका ६० जना कलाकार सहभागी हुनेछन् भने १७ नेपाली कलाकारका कलाकृतिसमेत राखिनेछ।

प्रतिक्रिया दिनुहोस्