‘नेपालमा विकासको वातावरण बन्दै’



काठमाडौं, (नेस)
नेपालको भौतिक पूर्वाधार निर्माणका लागि निजी क्षेत्रबाट उचित आयोजना प्रस्ताव प्राप्त एसियाली पूर्वाधार लगानी बैंकले लगानी गर्न सक्ने बैंकका अध्यक्ष जिन लिक्वुनले बताउनु भएको छ। नेपाल उद्योग परिसंघको प्रबुद्ध परिषद्का सदस्यहरूसँग शुक्रबार भएको भेटमा उक्त कुरा बताउनुभएको हो।

पूर्वाधार आयोजना विकासका लागि राजनीतिक नेतृत्वको दूरदृष्टि तथा प्रतिबद्धता र त्यसलाई कार्यान्वयन गर्न राजनीतिक स्थायित्व पूर्वसर्त भएको भन्दै पछिल्लो समयमा नेपालमा विकास भएको वातावरणबाट आफू निकै प्रभावित भएको उहाँको भनाइ थियो।

नेपाल लगानी सम्मेलनमा दोस्रो मुख्य वक्ताका रूपमा आउनु भएका अध्यक्ष लिक्वुनले लगानी सम्मेलनमा नेपाली नेताको अभिव्यक्तिले पूर्वाधार विकासका साथै नेपालको सामाजिक–आर्थिक रूपान्तरणमा नेतृत्वको प्रतिबद्धता पुष्टि भएको भन्दै अब नेपालको पूर्वाधार विकासले गति लिने र त्यसका लागि आवश्यक लगानी गर्न बैंक प्रतिबद्ध रहेको बताउनुभयो।

त्यसक्रममा परिसंघका अध्यक्ष हरिभक्त शर्माले सन् २०३० सम्ममा मध्यम आययुक्त विकासोन्मुख देशमा स्तरोन्नति हुने लक्ष्यका साथ नेपाल सरकार निजी–सार्वजनिक साझेदारीका माध्यमबाट देश विकासको बाटोमा अग्रसर भएको जानकारी दिँदै निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणमा बैंकको सहयोगको अपेक्षा आफूहरुले गरेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्