नाम हत्याकाण्डका आशंकित उत्तर कोरियाली हिरासत मुक्त हुने



क्वालालम्पुर, (एजेन्सी)
उत्तर कोरियाली नेता किम जोङ उनका सौतेनी भाइ किम जोङ नामको गत १३ फेब्रुअरीमा मलेसियाको राजधानी क्वालालम्पुरको अति व्यस्त विमानस्थलमा रहस्यमय हत्या भएपछि मलेसियाली सरकारले केही संदिग्ध व्यक्तिहरुलाई तत्कालै र अन्य शंकास्पदलाई केहीपछि पक्राउ गरेको थियो। नामको पोस्टमार्टमपछि उनलाई भिएक्स नर्भ एजेन्ट नामक खतरनाक रसायनिक पदार्थ प्रयोग गरी मारिएको बताइएको थियो।

नामको हत्या भएको चार दिनपछि उक्त हत्याकाण्डमा संलग्न रहेको आशंकामा प्रहरीले पक्राउ गरेका एक जना ४५ वर्षीय उत्तर कोरियाली नागरिक रि जोङ कोलसँग हत्याकाण्डबारे गहिरो सोधपुछ गरेको थियो।

अभियुक्तको बयान र प्रहरी अनुसन्धानपश्चात् त्यस हत्याकाण्डमा कोलको खासै संलग्नता भएको प्रमाण नभेटिएका कारण उनलाई हिरासत मुक्त गरिने भएको मलेसियाली सरकारी अधिकारीले बिहीबार जनाएका छन्। यसअघि पनि मलेसियाली सरकारले कोललाई पक्राउ गर्नुको कुनै ठोस कारण कहिल्यै खुलासा गरेको थिएन।

मलेसिया भ्रमणमा आउन उत्तर कोरियाली नागरिकका लागि आवश्यक पर्ने वैध कागजात कोलसँग नभएको कारण देखाई उनलाई हिरासत मुक्त गरी तत्कालै उत्तर कोरिया नै फर्काइने महान्यायाधिवक्ता मोहम्मद अपान्डि अलिले बताएका छन्।

मृतक किम जोङ नामका दुई जना छोरा र एउटी छोरी गरी तीन सन्तान रहेका बताइएको छ। उनले चीनको बेइजिङ र मकाउमा बेग्लाबेग्लै बसोबास गर्ने नातेदार महिलाहरुकहाँ राखेर आफ्ना सन्तानहरु पढाउँदै आएको पनि बुझिएको छ। तीमध्ये मकाउ बस्ने एक जना महिला नातेदारलाई भेटघाट गर्न जान भनी क्वालालम्पुर विमानस्थलमा उडान कुरिरहेको बेला महिलाद्वयः एक जना इन्डोनेसियाली र एक जना भियतानमीले नामको अनुहारमा विषाक्त रासायनिक पदार्थ भिएक्स नर्भ एजेन्ट छर्केर भागेका थिए। नर्भ एजेन्ट छर्किएको एक घण्टामै उनको मृत्यु भएको थियो।

नाम हत्याकाण्डका थप अभियुक्तहरुमा अन्य सात जना उत्तर कोरियाली पनि संलग्न रहेको आशंकामा मलेसियाली सरकारले तिनीहरुको व्यापक खोजी गरिरहेको छ।

तीमध्ये चार जना नामको हत्या भएकै दिन मलेसियाबाट भागेर उत्तर कोरिया फर्किसकेका अनुमान गरिएको छ। खोजीमा परेका अन्यमा क्वालालम्पुरस्थित उत्तर कोरियाली राजदूतावासका द्वितीय सचिव र उत्तर कोरियाली सरकारको स्वामित्वमा रहेको एयर कोरियो विमान सेवाका एक कर्मचारी पनि रहेको जनाइएको छ।

यसैबीच मलेसिया सरकारले उत्तर कोरियाली नागरिकहरुलाई प्रदान गरिँदै आएको प्रवेशाज्ञा सम्बन्धी नियममा पनि परिवर्तन गरेको छ। हालसम्म मलेसिया प्रवेश र भ्रमण गर्नका लागि उत्तर कोरियाली नागरिकहरुलाई भिसा आवश्यक नपर्ने नियम खारेज गरिएको छ। उत्तर कोरियाली नागरिकहरु बिनारोकतोक मलेसिया प्रवेश गर्न पाएका र यसले आफ्नो मुलुकमा अपराधका घटना वृद्धि हुनमा सघाएको पो हो कि भन्ने पछिल्लो समयमा सरकारको बुझाइ रहेको जनाइएको छ।

भिसा सम्बन्धमा उत्तर कोरियालीहरुलाई दिइएको सहुलियत वा खुकुलो नियमलाई मलेसियाली सरकारले हालैको नाम हत्याकाण्डसँग जोडेर हेरेको कारण पनि यसअघिको नियम खारेज गरिएको अनुमान गरिएको छ।

धेरैजसो मलेसियालीले अपराध विज्ञहरुले नाम हत्याकाण्ड प्योङयाङद्वारा बुनिएको षडयन्त्र हो भन्ने आशंका गरेका छन्। नाम हत्याकाण्डलगत्तै उत्तर कोरिया र मलेसियाबीचको पुरानो दौंत्य सम्बन्ध चिसिएर दुई देशबीच राजनीतिक शीतयुद्ध शुरु भइसकेको छ। यस अघिसम्म उत्तर कोरिया र मलेसिया विश्वसामु दुई अभिन्न मित्र र राजनीतिक साझेदारका रुपमा स्थापित भएका थिए।

लामो समयदेखि उत्तर कोरियालीहरुले मलेसियालाई सहज गन्तव्य मान्दै जागिर वा व्यवसायको अवसरको खोजी, अध्ययन वा पठनपाठन, उद्योग वा व्यापारको अवसरका लागि सुरक्षित भूमिका रुपमा उपयोग गर्दै आएका थिए।

यसैबीच नामको शव बुझ्नका लागि उत्तर कोरियाली अधिकारीहरुको एक उच्चस्तरीय प्रतिनिधि मण्डल क्वालालम्पुर आइपुगेको छ। उक्त टोलीमा संलग्न संयुक्त राष्ट्र संघका लागि उत्तर कोरियाका पूर्व उपराजदूत रि तोङ इलले क्वालालम्पुरस्थित दूतावासबाहिर पत्रकारहरुलाई आफूहरु नामको शव लिन र यस हत्याकाण्डको सिलसिलामा हिरासतमा लिइएका उत्तर कोरियाली नागरिकलाई मुक्त गराउन आएको जानकारी दिएका छन्।

मलेसियाली सरकारी अधिकारीहरुले इन्डोनेसियाली र भियतनामी महिलालाई नामको अनुहारमा छइप्न भिएक्स नर्भ एजेन्ट उत्तर कोरियालीहरुले नै दिएको दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्