प्रि–मनसुनको प्रभाव मुलुकभर



काठमाडौं, (नेस)
स्थानीय र पश्चिमी वायुको दोहोरो प्रभावले बिहीबार अपराह्न मुलुकका अधिकांश भेगको मौसम बदलिएर मेघ गर्जनसहित हल्का वर्षा भएको छ। धेरै ठाउँमा हुरीबतासको समेत प्रभाव परेको छ।

सुदूरपश्चिममा भने भारतीय भू–भागबाट भित्रिएको पश्चिमी वायुको प्रभावले मौसम धुमिएर वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुको प्रभाव आज शुक्रबार मध्य र पूर्वी भेगमा समेत पर्न सक्ने मौसमविद्हरूको ठहर छ। तर अब मनसुन पूर्वार्ध (प्रिमनसुन)को अवधि शुरु भइसकेकाले चट्याङ पर्ने, हावाहुरी र मेघ गर्जनसहित क्षणिक वर्षाको गतिविधि दोहोरिने जल तथा मौसम विज्ञान विभागका मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो। ‘प्रि–मनसुन शुरु भइसकेको छ, यस्तो बेला छोटो अवधिमा मौसम बदलिएर क्षणिक वर्षा हुन्छ, प्रायः अपराह्नको समयमा यस्तो गतिविधि देखिन्छ। –उहाँले बताउनुभयो।

अंग्रेजी महिनाको मार्च, अप्रिल र मेमा प्रि–मनसुन गतिविधि सक्रिय हुने उहाँले बताउनुभयो। महाशाखाको तथ्यांकअनुसार बिहीबार अपराह्न पूर्वी पहाडी भेगबाहेक अधिकांश क्षेत्रमा क्षणिक वर्षा भएको थियो। महाशाखाका अनुसार बिहीबार अपराह्न काठमाडौंमा १ दशमलव ५ मिलिमिटर, धनगढीमा १ दशमलव १ मिलिमिटर वर्षा भएको थियो भने वीरेन्द्रनगर, नेपालगन्ज, पोखरा, जोमसोम, भैरहवा, सिमरा, ओखलढुंगालगायतका स्थानमा छिटफुट पानी परेको थियो।

प्रतिक्रिया दिनुहोस्