पाँचथरमा चौंरी महोत्सव हुने



गणेश साम्पाङ, पाँचथर
युवा जनशक्तिको अभाव र सुखी जीवन बिताउने चाहानाले चौंरी गाई पालन व्यवसाय संकटमा पर्दै गएको समयमा पाँचथरमा पहिलोपटक चौंरी महोत्सव हुने भएको छ।

उत्तरी पाँचथरको प्राङबुङ सिदिन र मेमेङका गाविसका स्थानीय चौंरी पालक कृषकहरूको सक्रियतामा सो महोत्सव हुन लागेको हो।

पछिल्लो समयमा विभिन्न कारणले संकटमा पर्दै गइ रहेको चौंरी पालन व्यवसाय प्रर्वद्धन गर्नका आगामी चैतको अन्तिम हप्तामा सो महोत्सव आयोजना गर्न लागिएको सो महोत्सव आयोजक समितीका संयोजक राजेन्द्र गुरुङले बताउनुभयो।

अहिले गाउँ घरका सबै युवाहरू वैदेशिक रोजगारीमा खाडी मुलुक गएका छन्।

गाउँ घरका मान्छेहरू पनि सुखी जीवन यापन गर्न खोज्छन दुःख गर्न चाहँदैनन् यस्तो अवस्थाले गर्दा चौरीपालन व्यवसाय संकटमा परेको हो तर पनि हामी हाम्रो परम्परालाई बचाउन चौंरी पालन व्यवसाय गरी रहेका छौं। यस व्यवसाय लाई व्यवस्थित गर्नका लागि पनि यो महोत्सव गर्न लागिएको संयोजक गुरुङ बताउनुहुन्छ।

अहिले पाँचथरको फलैंचा, च्याङथाप, मेमेङ, प्राङबुङ र सिदिन गाविसमा गरी ३० गोठ जति चौंरी रहेको सिदिनका चौंरी पालक राजेन्द्र राई भन्नुहुन्छ। चौंरी पालन व्यवसाय संकटमा पर्नु जनशक्ति अभावबाहेक सरकारी सेवा सुविधाबाट बञ्चित हुनु। चौंरी चर्ने क्षेत्र उत्तरी पाँचथरको नेपाल भारत सीमावर्ती क्षेत्रमा भारत पटि ठूला–ठूला जंगल हुनाले त्यहाँ रहेका जंगली जनावरले सालिन्दा नेपालका चौरी खाइदिनाले पनि मानिसहरूले चौरी पाल्न छाड्दै गइरहेका हुन्। अर्को कुरा पाँच गाविसमा २५ सयभन्दा बढी चौरी पालिएका छन् तर ती चौंरीहरूलाई लाग्ने रोग नश्ल सुधारजस्ता प्रविधिक सेवा सुविधा राज्यले दिन सकेको छैन त्यसले पनि यो व्यवसाय संकटमा परेको हो यो महोत्सवमा यस्ता विषय पनि उठ्नुपर्छ राई भन्नुहुन्छ।

पाँचथरको चौरी पालन क्षेत्रका रूपमा परिचित मेमेङ प्राङबुङ क्षेत्रको फैलावटमा हुने सो महोत्सव सम्पन्न गर्नका ६५ सदसिय मूल समारोह समिती र विभिन्न उपसमितीहरू गठन गरिएको समेत संयोजक गुरुङले बताउनुभयो। महोत्सवमा चौरी पालन व्यवसायसम्बन्धी ज्ञान सीप आदानप्रदान चौंरीको दूधबाट तयार भएका परिकार चौंरीको छालाबाट तयार गरिएका सामाग्रीको प्रदर्शनीसमेत गरिने प्रचारप्रसार संयोजक लक्ष्मी गौतमले बताउनुभयो।

यो महोत्सवले परम्परागत रूपमा हिमाली क्षेत्रमा गरिँदै आएको चौंरीपालन व्यवसायको प्रवर्दनसंगै यसले आन्र्तरिक पर्यटक प्रवद्र्धनमा समेत सहयोग पुर्याउने संयोजक गौतम भन्नुहुन्छ।

महोत्सव सम्पन्न गर्नका लागि जिल्ला विकास समिती पाँचथर चौंरीपालन व्यवसाय भइरहेका गाविस चौंरीपालनसम्बन्धी सरोकार राख्ने सामाजिक संघसस्थाहरूको समेत सहयोग रहने आर्थिक समितीका संयोजक थर्कप्रसाद गुरुङले बताउनुभयो।

महोत्सवमा सो क्षेत्रका सांस्कृतिक झाँकी प्रदर्शन र स्थानीय परिकारहरूको समेत व्यवस्था गरिने र इलाम ताप्लेजुङ जिल्लाका चौंरीपालक कृषकहरूलाई समेत आमन्त्रण गरिने स्थानीय व्यवस्थापन उप–समितीका संयोजक जगप्रसाद राईले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्