राजविराजमा विमानस्थल बन्दै



नेपाल समाचारपत्र
राजविराज
राजविराजमा विमानस्थल निर्माणको कामले तीव्रता पाएको छ। आगामी असारसम्ममा विमानस्थल तयार हुने निमार्ण पक्षले दाबी गरेको छ।

व्यवस्थापिकका संसदअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले बिहीबार राजविराज विमानस्थलकै सभाहलमा आयोजना गरेको अन्तरकृया कार्यक्रममा सो जानकारी गराएको हो।

विमानस्थलको रन्बे बनाउने समयसिमा मंसिरसम्म भएपनि असारभित्रै विमानस्थलको रनवे तयार भइसक्ने जानकारी गराइएको छ। समितिका सभापति प्रभु साहको अध्यक्षतामा आयोजना गरिएको अन्तरकृया कार्यक्रममा बोल्दै विमानस्थल निर्माण कार्यका प्रमुख रामएकबाल महतोले असारभित्रै जहाज उड्ने योग्य विमानस्थल बनि सक्ने जानकारी दिए।

अहिले द्रूत गतिमा काम भइरहेको बताउँदै उनले असारसम्म परीक्षण उडान गरिसक्ने बताए।

विमानस्थलको १५ सय मिटर लामो र ३० मिटर चौडाइ भएको रनवे निर्माण कार्य भइरहेको बताउँदै उनले यो विमानस्थल विराटनगरजस्तै रहने बताए। उनले रु ३० करोड ३० लाख मा रनवे बनाउने काम भइरहेको जानकारी गराउँदै विमानस्थललाई सुचारु गराउनका निम्ति बजेटको कुनै अभाव नरहने विश्वाससमेत व्यक्त गरे।

समितिका सभापति साहले आफू नेतृत्वको समितिले राजविराज विमानस्थलको निर्माण कार्यलाई प्राथमिकतामा राखेको बताउँदै बजेटको कुनै अभाव हुन नदिने बताए। सगरमाथा अञ्चलको सदरमुकाम भए पनि राजविराजबाट जहाज नउड्नु बिडम्बना भएको बताउँदै आगामी वर्षदेखि यस विमानस्थलबाट जहाज उड्ने उनले विश्वास व्यक्त गरे।

उनले विमानस्थल आफूहरूले बनाइदिए पनि विमानस्थलसँग टाँसिएर रहेको कुनौली सडक र हुलाकी सडक ४ लेनको नबने विमानस्थलको कुनै औचित्य नहुने भएकाले यसतर्फ जिल्लाका राजनीतिक दलका नेताहरूलाई ध्यान दिन आग्रह गरे।

कार्यक्रममा समितिका सदस्य एवं सप्तरी क्षेत्र नम्बर २ का सांसद अमर मण्डल, क्षेत्र नम्बर ३ का समानुपातिक सांसद जितेन्द्रनारायण देवसहित अधिकांश सदस्य सांसदको उपस्थिति रहेको थियो।

कार्यक्रममा जिल्लाका राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, उद्योगी, व्यवसायी, संचारकर्मीहरूले कुनै पनि बहानमा विमानस्थलको निर्माण कार्य रोकिन नहुने भन्दै आफूहरूबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएको थियो।

प्रतिक्रिया दिनुहोस्