रेल्वेद्वारा उपाधि रक्षा



बाँके, (नेस)
प्रधानमन्त्री कप चौथो इन्डो–नेपाल महिला भलिबल प्रतियोगिताको उपाधि रेल्वेले जितेको छ। साविक विजेता रेल्वेले साविक उपविजेता एपीएफ क्लबलाई ३–० को सेटमा हराउँदै उपाधि रक्षा गरेको हो।

बुधबार भएको फाइनल खेलको अत्यन्त प्रतिस्पर्धात्मक पहिलो सेटमा रेल्वेले एपीएपलाई २७–२५ ले हरायो। रेल्वेले दोस्रो सेट २५–१७ ले जित्दा तेस्रो सेट २५–२२ ले आफ्नो पक्षमा पार्यो। लिगकम नकआउटको आधारमा सञ्चालन भएको प्रतियोगिताको विजेताले १ लाख ११ हजार, दोस्रोले ५५ हजार रुपियाँ, तेस्रोले ३५ हजार रुपियाँ प्राप्त गरे।

नेपालगन्ज कर्भडहलमा तेस्रो स्थानका लागि भएको खेलमा पुलिसले आर्मीमाथि ३–१ को जित निकाल्यो। पुलिसले पहिलो तेस्रो र चौथो सेट क्रमशः २५–१८, २५–१५ र २५–२३ ले आफ्नो नाममा लेखाउदा दोस्रो सेट आर्मीले २५–२० ले जित्न सफल भयो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी रेल्वेकी अनुश्री घोषले सर्वोत्कृष्ट खेलाडीको उपाधि जितिन्। उनले नगद १० हजार प्राप्त गरिन्।

त्यस्तै विधागततर्फ उत्कृष्ट स्पाइकरमा एपीएफकी सरस्वती चौधरी, उत्कृष्ट ब्लकरमा एपीएफकी उषा विष्ट, उत्कृष्ट सर्भरमा एपीएफकै नेबिका चौधरी चुनिए भने उत्कृष्ट सेटरमा रेल्वेकी रिचु म्यारी र उत्कृष्ट डिफेन्सको उपाधि रेल्वेकै पिरोस्मिता बापरीले जितिन्। उनीहरूले जनहि नगद २ हजार प्राप्त गरे।

प्रतिक्रिया दिनुहोस्