अढाइ सय क्याम्पसमा स्ववियु चुनाव



ईश्वरराज ढकाल, काठमाडौं
त्रिभुवन विश्वविद्यालयले उपत्यकाका ७ र उपत्यका बाहिरका १५ गरी २१ आंगिक क्याम्पसमा मात्रै स्ववियु चुनाव सम्पन्न गरेको छ।

बुधबार करिब २ सय ५० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन भएको छ। निर्वाचनको मत परिणामा आउने क्रम जारी रहेको छ। त्रिविले पहिलोपटक २८ वर्ष उमेर हद कायम गरी निर्वाचन गरेको छ। उमेरको विषयमा ठूलो विवाद भइरहेको बेला विद्यार्थी संगठनहरू सहमतिमा आएर निर्वाचनमा होमिएका हुन् र ६० आंगिक क्याम्पसमध्ये ३६ वटामा निर्वाचन हुन सकेको छैन। त्रिविले स्थगित भएका क्याम्पसमा आपसी समझदारी कायम गरी निर्वाचन गर्न क्याम्पस प्रमुखहरूलाई निर्देशन दिइसकेको छ।

त्रिविको निर्वाचन कार्यविधिको बँुदा नम्बर ७ मा कुनै कारणवश स्ववियु निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुन नसक्ने अवस्था सृजना भएमा क्याम्पस प्रमुखले निर्वाचन स्थगन गरी पछि मिति तोकेर निर्वाचन गर्न सक्ने उल्लेख गरिएको छ। सोही बुँदालाई टेकेर क्याम्पस प्रमुखलाई निर्वाचनको मिति घोषणा गर्न दिने अधिकार दिइएको उपकुलपति प्राडा तीर्थ खनियाले बताउनुभयो।
बुधबार सम्पन्न मत परिणामअनुसार मुख्य तीन विद्यार्थी संगठनले आफूले भारी मतसहित क्याम्पसहरूमा विजय हासिल गरेको दाबी गरेको छ। अनेरास्ववियु, नेविसंघ र अनेरास्ववियु क्रान्तिकारी (प्रचण्ड) को विद्यार्थी संगठनले करिब चार दर्जनभन्दा बढी क्याम्पसमा विजय हासिल गरेको दाबी गर्दै आएका छन्।

आज बिहीबार मत परिणाम घोषणा भएपछि कुन संगठनले कति मत हासिल गर्यो भन्ने विषय स्पष्ट हुनेछ। मत परिणाम आएपछि स्थगित भएका ठूला क्याम्पसमा निर्वाचन हुने आशा त्रिविले लिएको छ। त्रिविका उपकुलपति प्राडा तीर्थ खनियाले केही क्याम्पसमा भए पनि निर्वाचन गर्न सफल भएको बताउनुभयो। उहाँले भन्नुभयो– ुत्रिविले काम गर्यो कि गरेन भनेर मूल्यांकन गर्ने काम तपाईंहरूको हो, हामी त सफल भएका छौंजस्तो लागेको छ।

उपत्यकाको जनप्रशासन क्याम्पस, कोटेश्वर बहुमुखी क्याम्पस, चिकित्साशास्त्र अध्ययन संस्थान, नर्सिङ, सानोठिमी शिक्षा, भक्तपुर, पुल्चोक इन्जिनियरिङ र थापाथली इन्जिनियरिङ क्याम्पसमा निर्वाचन सम्पन्न भएको छ। स्थगित निर्वाचन तत्काल गर्न त्रिविले पुनः छलफल गर्ने तयारी गरेको निर्वाचन समितिका सदस्य सचिव ग·ाबहादुर मगरले जानकारी दिनुभयो।
उहाँले भन्नुभयो– ुबल्ल निर्वाचन सकेका छौं, अन्यमा कहिले गर्ने भन्ने विषयमा सबै क्याम्पस प्रमुखसँग छलफल गरेर निर्णय गर्ने तयारीमा लागेका छौं।

निर्वाचनमा योपटक तडकभडक र प्रचारबाजी भएन अधिकांश विद्यार्थी संगठनले आचारसंहिता पालना गरेको कारण निर्वाचन शान्तपूर्ण वातावरणमा सम्पन्न भएको त्रिविले जनाएको छ। निर्वाचन भएका क्याम्पसमा अधिकांश मतदाता उत्साहपूर्ण रूपमा सहभागी भएका थिए। विद्यार्थी संगठनदेखि पार्टी र युवा आबद्ध संघ संगठन निर्वाचनमा सहयोग गर्न व्यापक परिचालित भएका थिए।

तराईका आठ जिल्लामा निर्वाचनको कुनै पनि प्रक्रिया अघि बढ्न सकेको छैन। मधेस केन्द्रित विद्यार्थी संगठनले तराईका सम्पूर्ण शिक्षण संस्था बन्दको आह्वान गरेका कारण स्ववियु निर्वाचनसमेत अनिश्चित भएको छ।

प्रतिक्रिया दिनुहोस्