ट्रान्समिसन फेल हुँदा महतको निधन



मोतीराम तिमल्सिना, काभ्रेपलाञ्चोक
पत्रकार अशोक महतको आमाको धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएको छ। महतका आफन्तले मृत्युको कारणबारे स्पष्ट पार्न माग गर्दै केही बेर अस्पताल प्रशासनमा धर्ना दिएका थिए।

महतको ४१ वर्षीया आमा सुभद्रा महतले धुलिखेल अस्पतालमा गत शनिबार पाठेघर र पित्तथैलीमा भएको स्टोनको अप्रेसन गर्न भर्ना गरिएको थियो। स्त्रीरोग विशेषज्ञ डा. आभा श्रेष्ठको टोलीले महतको आइतबार सफल अप्रेसन गरी वार्डमा पठाएकी महतको हेमोग्लोविन कम हुन गई ब्लड ट्रान्समिसन गर्ने क्रममा क्रस म्याच नभएका कारण निधन भएको अस्पतालले जानकारी दिएको छ। अस्पतालमा भर्ना भएकी महत अप्रेसनपछि सामान्य अवस्थामा फर्किएकी थिइन्, जाउलोसमेत खान थालेकी महत आफैं शौचका लागि जाने–आउने गरेकी थिइन्, स्त्रीरोग विशेषज्ञ डाक्टर श्रेष्ठले भनिन्– हेमोग्लोबिन कम भएकाले उहाँको रगत समूह एबी पोजेटिभअनुसार नै दुई पटक क्रस म्याच गरी ट्रान्समिसन गरिएको हो। तर, त्यही रगत उहाँको शरीरले म्याच गर्न सकेन, एक्कासि उहाँमा आएको परिवर्तन रोक्न सम्भव भएन। विश्वमै रगत समूह क्रस म्याच गरेर देखाएपछि बिरामीलाई ट्रान्समिसन गर्ने प्रविधि त्यही हो कसरी उहाँलाई त्यो रगत मिल्न सकेन ? भन्न नसकिने डाक्टर श्रेष्ठले बताइन्।

मंगलबार राति १० बजेर ८ मिनेट जाँदा महतको निधन भएको थियो। डाक्टरको समूहले उहाँमा आएको परिवर्तनलाई तत्काल उपचार गराए पनि बचाउन नसकिएको बताएका छन्। आफन्तसँग भएको बुधबारको छलफलपछि उहाँलाई प्रयोग गरिएको रगत कल्चरका लागि पठाइएको छ। अस्पतालले रगतमै खराबी भएको भन्न नसकिने भन्दै यसलाई प्राविधिक त्रुटीका रूपमा लिएको छ।

बिरामीका आफन्तले अस्पतालको कमजोरी भएकाले महतको निधन भएको बताएपछि अस्पतालले आफन्तलाई त्यसको प्रक्रिया, उपचारको विधि र रगतको अवस्थाका बारेमा जानकारी गराउँदै रगत कल्चर गर्न पठाएको हो।

रेडियोहरूमा कार्यरत पत्रकार अशोक महत हाल वैदेशिक रोजगारको क्रममा विदेशमा छन्। सुभद्राका दुई छोरा छन्। अशोक जेठा छोरा हुन्। एक छोरीको विवाह भएको छ। बुधबार नै परिवारले शव बुझेर पनौतीमा अन्त्येष्टी गरेको छ।

प्रतिक्रिया दिनुहोस्