रुपन्देहीमा स्थानीय चुनावको लागि करिब ५ लाख मतदाता



यमलाल भुसाल, बुटवल ।
आगामी बैशाक ३१ गतेहुने स्थानीय निर्वाचनका लागि रुपन्देहीबाट ४ लाख ६५ हजार ३ सय १९ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

मतदाता नामवलीमा दर्ता भएको मतदाता संख्या निर्वाचन कार्यालयले केन्द्रमा पठाई सकिएको जानकारी गराएको छ ।

१९ वर्षपछि हुन लागेको स्थानीय निर्वाचनमा रुपन्देही निर्वाचन कार्यालयमा ३१ दलले आफ्नो नाम दर्ता गराएका छन् । निर्वाचन कार्यालयमा विभिन्न ३१ दल दर्ता भएपनि निर्वाचनमा कति दलले भाग लिने र कतिले नलिने भन्ने अझै एकीन हुन सकेको छैन ।

आज र भोली केन्द्रमा हुने निर्वाचन प्रयोजनका लागि दल दर्ता कार्यक्रम सम्पन्न भएपछि रुपन्देहीमा कति दलले निर्वाचनमा सहभागिता जनाउने छन् भन्ने एकीन हुनेछ ।

निर्वाचन कार्यालयमा नेपाली कांगे्रस, राष्ट्रिय जनमोर्चा, नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, नेकपा माओवादी केन्द्र, देशभक्त समाजबादी पार्टी, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय मधेश समाजवादी पार्टी, नेकपा एमाले, तराई मधेश लोकतान्त्रिक पार्टी, नयां शक्ति पार्टी, राष्ट्रिय प्रजातनत्र पार्टी, नेपाल जतता पार्टी, मधेश जनअधिकार फोरम लोकतान्त्रिक, नेपाल समावेशी पार्टी, नकेपा संयुक्त, नेकपा माक्र्सवादी, नेकपा माले, बहुजन शान्ति पार्टी, विवेकशील नेपाली दल, शान्ति पार्टी, युनाईटेड ग्रिन अर्गनाईजेशन पार्टी, मधेशी जनअधिकार फोरम गणतान्त्रिक, नेपाल सद्भावना पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक नेपाल, नेपाल मजदुर किसान पार्टी, नेकपा माक्र्सवादी, राष्ट्रिय जनमुक्ति पार्टी, हामे पार्टी, नेपाल लोकतान्त्रिक जनता कांगे्रस र नेकपा माले जनसमाजबाद लगायतका ३१ दलले निर्वाचन कार्यालयमा पार्टीको नाम दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।

सरकारले तोकेकै मितिका स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि सबै कार्यक्रमहरु दु्रत गतिमा अगाडी बढाईएको निर्वाचन कार्यालयका प्रमुख होमनाथ गौतमले जानकारी गराउनुभएको छ ।

३१ गते हुने निर्वाचनका लागि निर्वाचन कार्यालयले बैशाक १६ गते मनोनयन दर्ता गर्ने र १७ गते १० वजेदेखि १ वजेसम्म उम्मेदवारीका लागि दाबी बिरोधको कार्यक्रम सार्वजनिक गरेको छ ।

त्यस्तै १८ गते मनोनयन चेकजांच गरिने, १८ गते नै मनोनयन भएको नामावली प्रकाशन गरिने र सोही दिन दिउंसो १ वजेपछि ५ वजेसम्म उम्मेदवारी फिर्तालिने कार्यतालिका निर्वाचन कार्यालयले सार्वजनिक गरेको छ । त्यस्तै बैशाक १९ गते उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गरिने तालिका निर्वाचन कार्यालयले जानकारी गराएको छ ।

केन्द्रबाट निर्वाचन सम्बन्धी नयां संरचना आईसकेपछि मतदान केन्द्रहरुको अवलोकन गरेर केन्द्रहरु निश्चित गरिने बताईएको छ । निर्वाचन सम्पन्न गर्र्नका लागि आवश्यक पर्ने जनशक्तिको कमी नभएकाले निर्वाचनका सबै गतिविधिहरु तीव्र गतिमा सञ्चालन गरिएको समेत निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्