एक प्रहरी जवान जस्ले सबै तलब समाजसेवामा खर्चे



सीताराम चौधरी, कपिलवस्तु ।
समाजमा अचम्मका मानिस पनि हुँदा रहेछन् । कोही धनकै लागि मरिहत्ते गर्छन् । धनको लागि जे पनि गर्न तयार हुन्छन् । तर कोही भने आफ्नो सर्वस्व समाजसेवामा नै लगाउने गरेको पनि भेटिन्छन् । कपिलवस्तुमा पनि अचम्मका एक प्रहरी जवान छन् । उनी हुन् –राष्ट्रसेवक सुरक्षाकर्मी एवं वरिष्ठ समाजसेवी डा. दीपक थापा ।

इलाका प्रहरी कार्यालय सुन्दरीडाँडा कपिलवस्तुमा कार्यरत प्रहरी जवान थापा उमेरले भर्खर तीन दशमा पाइला टेकेका छन् । अहिलेसम्म उनी अविवाहित छन् । बिहे नै नगरी जीवनभर सन्त बस्ने पनि उनले प्रण गरेका छन् । नेपाल प्रहरीमा जागिरे भएको पनि १२ वर्षमा टेकेको उनले बताए । तर १२ वर्षको तलबबाट १२ सय रुपैयाँ पनि घरमा नदिएको उनी बताउँछन् ।

उनले समाज सेवामा खर्चिएको रकमले पनि घरमा एक पैसा नदिने गरेको पुष्टि गर्छ । उनी जहाँ कार्यरत हुन्छन्, आफूलाई त्यहीँ नै समाजसेवामा समर्पित समेत गरेका हुन्छन् । जनताले तिरेको कर कुनै पनि हिसाबबाट जनतालाई नै फिर्ता गर्ने सोँचका साथ उनी जागिर सँगसँगै समाजसेवामा लाग्ने गर्छन् । सादा जीवन उच्च विचार, मस्तिष्कमा समझदारी, हृदयमा इमान्दारी भएर काम गरे सफल भइन्छ भन्ने उच्च विचारले समाजसेवामा लागेको थापा बताउँछन् । आफूले पाएको तलब खाइपाइबाट बचेको सामाजिक कार्यमा लगाउने महान लक्ष्य बोकेर उनी अगाडि बढेका छन् । विशेष गरी शिक्षा, स्वास्थ्य, गरीब असहाय, बृद्धवृद्धा, धार्मिकक्षेत्र, पर्यटन, विकास, कला र खेलकूद क्षेत्रमा आफ्नो तलब लगाउँदै आएका छन् ।

२०४२ साल मंसिर ७ गते बुटवल उपमहानगरपालिका–१६, पदमपुर स्थित पिता लिलबहादुर थापा र माता गणेशकुमारी थापाको कोखबाट जन्मिएका उनी बाल्यकालदेखि नै आध्यात्मिक रहेको बताउँछन् । भारतको हरिद्वारमा बालापनदेखि आध्यात्मिक ज्ञान हासिल गरेको उनी बताउँछन् । प्राकृतिक योग शिक्षाशास्त्रमा हालै उनी पीएचडी सम्मको अध्ययन पूरा गरेका छन् । हाल उनी प्रहरी जवान भएपनि डाक्टरको उपाधी पाएका छन् । जागिरको सिलसिलामा पौने दुई वर्षकै अन्तरालमा उनी जिल्लाको विभिन्न क्षेत्रमा आफ्नो तलबबाट लाखौं रकम सहयोग गरिसकेका छन् र सहयोग गर्दै आएका पनि छन् ।

थापा गुल्मीबाट सरुवा भई २०७२ साउन १ गतेदेखि कपिलवस्तुको सुन्दरीडाँडास्थित इलाका प्रहरी कार्यालयमा ड्यूटी खटिए । महिना दिनपछि भदौमा जिल्लाको बनियाभारमा आयोजित जिल्लास्तरीय नकाउट फूटबल प्रतियोगितामा उनी प्रमुख प्रायोजक बने । उनले साउन महिनाको तलबबाट १५ हजार रुपैयाँ खेलकूदमा सहयोग गरे । सोही वर्षको माघेसंक्रान्तिको अवसरमा विजगौरीमा आयोजित फुटवल प्रतियोगितामा समेत २० हजार नगद सहयोग गरी राष्ट्रसेवक थापा मुख्य प्रायोजक भएका थिए । दोस्रो चन्द्रौटा महोत्सवमा उनले डान्स आइडलमा मुख्य प्रायोजक भई झण्डै एक लाख खर्चेका थिए । सडक खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रममा ३५ हजार सहयोग गरी सहप्रायोजक भएको उनी बताउँछन् ।

चन्द्रौटामा आयोजित जिल्ला स्तरीय तीजगीत प्रतियोगितामा प्रथम द्वितीय र तृतीयका लागि मुख्य प्रायोजकको रुपमा २० हजार सौजन्य गरे । अनाथ बालबालिकाका लागि चौवन्नपुरमा भएको दशैं विशेष सांस्कृतिक कार्यक्रममा ५० हजार, २०७३ को माघी खिचडी महोत्सवमा १ लाख सौजन्य गरी मुख्य प्रायोजक भएका थिए । यतिमात्र नभई उनले सुन्दरीडाँडामा मन्दिर निर्माणमा ११ हजार १सय ११ रुपैयाँ दान गरेका थिए । सोही बराबर रकम उनले रमवादहमा मन्दिर निर्माण र शिवगढी मन्दिरमा पनि सहयोग गरेका थिए । यस्तै बालापुरमा शिवजीको मन्दिर निर्माणमा २० हजार रुपैयाँ र बालापुरमै दुर्गा मन्दिर निर्माणका लागि १२ हजार सहयोग गरेको उनी बताउँछन् ।

राष्ट्रसेवक कर्मचारी भएर पनि आफूले महिनाभरि मिहिनेत गरी पाएको तलबबाट खर्च कटाएर बचेको सम्पूर्ण रकम समाजसेवामा लगाउने गरेका छन् । उनले त्रिपालनगरमा प्रतिक्षालय निर्माणमा ५ हजार, नेपाल आदर्श बहुमुखी क्याम्पसमा डिग्री संचालनका लागि आयोजित महायज्ञमा १० हजार रुपैयाँ, शिवगढीमा रहेको क्लब एवं संघसंस्थालाई २५ हजार सहयोग गरेका छन् । सरस्वती निमावि शिवपुरलाई ३२ हजार रकम बराबरको ८ ओटा ह््वाइट बोर्ड सौजन्य गरेका छन् । बालबालिकाको अध्ययन अध्यापनमा सहयोग पु¥याउन विभिन्न विद्यालयमा झण्डै २५ हजार बराबरको १० ओटा पंखा सहयोग गरेको बताएका छन् । त्यतिमात्र नभई उनले बाटोघाटो, खानेपानी, विजुलीबत्ती लगायतमा समेत सहयोग गरेका छन् । दुःखी, गरीब, विपन्न, असहाय, अपांगता भएका व्यक्तिहरुको दुःखलाई उनी देख्न सहँदैनन् । त्यस्ता मानिस देखेभने उनको मनमा दया जागिहाल्छ र आफूले सकेको आर्थिक सहयोग गर्दै आएका छन् ।

त्यतिमात्र होइन उनी गुल्मी जिल्ला प्रहरी कार्यालयमा रहँदा समेत विभिन्न विद्यालयमा अक्षयकोष, धार्मिक एवं पर्यटन प्रवद्र्धन, खेलकूद, स्वास्थ्य, शिक्षा तथा विपन्न, दुःखी गरीबको औषधिउपचार, एम्बुलेन्स खरीद लगायतमा आफ्नो तलबबाट दशौं लाख रुपैयाँ सहयोग गरेका छन् । त्यसका अलावा आर्थिक अभावकका कारण उपचार पाउन नसकेका र भोका नाङ्गाहरुलाई परेको आर्थिक सहयोगका विवरण त लेखी साध्य छैन । गत बैशाख १२ गतेको भूकम्पबाट पीडित बनेका देशभरका नेपालीहरुलाई सहयाग गर्न प्रहरी जवान थापाले प्रधानमन्त्री राहत कोषमा डेढ लाख रुपैयाँ पठाएका थिए । त्यस्तै काठमाडौंमा रहेको तीन वटा वृद्धाश्रमका वृद्धवृद्धाहरुलाई प्रहरी जवान थापाले तीन लाख सहयोग गरे ।

“१२ वर्ष जागिर भयो, पाएको तलबबाट आफूले साधारण सिभिल ड्रेस, बुट पोलिस लगायतको नित्यकर्ममा खर्च गर्छु, बचेको सब सामाजिक क्षेत्रमा खर्चेको छु” –थापाले भने । थापाका अनुसार बाबाले २० वर्षसम्म भारतमा बैंकको जागिर गरे । अहिले त्यसको पेन्सन आउँछ । पाँच तले पक्की घर छ । तीनवटा तलामा रहेका कोठाहरु भाडामा दिएका छन् । जमिन पनि अरुलाई गर्न दिएको उनी बताउँछन् । बुवाको पेन्सन, घरभाडा र खेतीपातीबाट आएको अन्न सजिलै घर खर्च चलेको छ । –थापा भन्छन् । “म घरको एक मात्र सन्तान हुँ । बाल ब्रम्हचारी भएकाले मेरो भोलिको सन्ततिका बारेमा सोच्ने कुरा पनि भएन ।” –उनले भने ।

२०६१ साल पुस ५ गते बुटवल तालिम केन्द्रबाट नेपाल प्रहरीमा प्रवेश गरेका उनी तालिम सकेर लुम्बिनी अञ्चल अस्पताल खटिए । लगत्तै त्यसै तालिम केन्द्रमा आए । त्यसपछि जिल्ला प्रहरी कार्यालय नवलपरासीमा ५ वर्षसम्म बसे । त्यहाँ छँदा जिल्ला अस्पताल खटिए । त्यस अस्पतालले स्वास्थ्य विभागबाट प्रहरी जवान थापालाई महापुरुष को उपाधीको प्रमाण पत्र सहित सम्मान गरेको थियो । भने जिल्ला प्रहरी कार्यालय गुल्मीले पनि त्यहाँ छँदा उत्कृष्ट कार्य गरे बापत उनलाई पुरस्कृत गरेको थियो ।

माछा, मासु, मदिरा र सूर्तिजन्य पदार्थ केही खाँदैनन् उनी । सामान्य पहिरनमा हिँड्ने, नियमित मन्दिरमा पूजा गर्ने र रातो टीका लगाउने गर्छन् उनले । बढी मात्रामा उनी रक्षक, कार्यालय व्यवस्थापनको काम र स्वास्थ्य क्षेत्रको ड्यूटीमा अनुभवी छन् । उनी प्रहरीभित्रको विकृति विसंगति अन्त्य गर्न सकिन्छ कि भनेर प्रहरी सेवामा प्रवेश गरेको बताउँछन् ।

भ्रष्टचार त प्रहरीमा मात्र होइन जताततै छ । त्यसको अन्त्य गर्न त न सकुँला तर प्रहरी जहाँ पुग्यो त्यहीं श्रीमती बनाउने विकृतिका विरुद्ध जनचेतना छर्ने प्रयासमा जुटेको उनी बताउँछन् । जो रक्षक उही भक्षक भन्ने भनाईलाई चिर्नका लागि आफू प्रहरीमा जागिर खाएको उनको भनाई छ । उनले जबसम्म प्रहरीमा रहन्छु, तबसम्म पाएको तलब समाजसेवामै लगाउँछु भनेका छन् । जनताको करबाट पाएको तलब जनतालाई नै फर्काउने म नै एक मात्र प्रहरी हुँ भनेर विश्वलाई चिनाउनु छ मैले ।

थापाले भने – “जन्मेर यो धर्तीमा आईसकेपछि आफू मात्र होइन, सबजना मिलेर बाँडेर बाँचौं भन्ने भावनाको विकास हुन सके न देशमा भ्रष्टचार हुन्छ न कुनै कुरामा लडाईं झगडा नै ।” मैले पाएको तलब घरमा नलगेर समाजसेवामा लगाएर पनि भएकै छ भने म जस्तै जागिरेहरुले त्यही तलबले जति पुग्छ त्यतिले घर चलाउन सके भने किन लोभ लालच र भ्रष्टचार गर्नु पर्दथ्यो ? उनले यस्तै प्रति प्रश्न गरे ।

स्कूले जीवनदेखि अहिले प्रहरीको १२ वर्ष अवधिसम्म तपाईलाई कुनै युवतीले प्रेम प्रस्ताव राखेका छैनन् भन्ने प्रश्नमा उनले आफ्नो मन सकारात्मक भएकोले अहिलेसम्म कसैले प्रस्ताव नगरेको बताए । बाबुआमाका एक मात्र सन्तान रहेका उनी सन्त बनेर गृहस्थी जीवन नजिएपछि वंशज नै सकिने होला नि भन्ने जिज्ञासामा उनले आफूलाई त्यसको चिन्ता नभएको बताए । “बाबुआमालाई पहिला वंशजको चिन्ता थियो तर पछि समाजसेवामा मैले गरेको काम र मेरो शुद्ध व्यवहार देखेर उनीहरु पनि सन्तुष्ट छन् र घरखर्चबाट बचेको पैसाबाट उनीहरुले पनि मैले जस्तै समाजसेवा गर्छन् ।” थापाले भने ।

गुल्मीबाट विदाई हुँदा जनसमुदायबाटै भव्य औपचारिक कार्यक्रमका बीच बिदाई भएका थापा जस्ता प्रहरी नेपालमा मात्र होइन विश्वमै भेटिन गाह्रो छ । अरुले आफ्नो र परिवारका लागि जागिर खान्छन् तर प्रहरी जवान थापा अरुको सेवाका लागि प्रहरीको जागिर खाइरहेका छन् । उनको अनुशरण अरुले गर्न सके यो देशमा भ्रष्टचार हुने नै थिएन । उनलाई नजिकबाट चिन्ने सबैले संसारमै अनौठो स्वभाव र उदाहरणीय समाजसेवी भएको बताउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्