बिरामी बोक्ने एम्बुलेन्सबाट गाँजा तस्करी



इनरुवा, १८ फागुन । बिरामी बोक्ने एम्बुलेन्स पनि गाँजा तस्करी गर्न प्रयोग भइरहेको खुलासा भएको छ । एम्बुलेन्समा गाँजा तस्करी भइरहेको सूचनाका आधारमा प्रहरीले सातबोरा गाँजा लाँदै गरेको अवस्थामा एम्बुलेन्स र गाँजा बरामद गरेको छ ।

मङ्गलबार सुनसरीको हरिपुर–९ नेहरु पार्कस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको को १ च ५५०५ नंको याक्थाकु नावाहाङ चेम्जोङ वंश उत्थान सङ्घको एम्बुलेन्सबाट गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी, सीमा प्रहरी चौकी, भान्टाबारी र सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट, भान्टाबारी समेतको संयुक्त टोलीले पच्छ्याउँदै एम्बुलेन्सलाई रोकी चेकजाँच तथा खानतलासी गर्ने क्रममा प्रतिबन्धित लागुऔषध सात बोरा (जम्मा १८८ केजी) गाँजासहित पक्राउ गरेको हो ।

उक्त एम्बुलेन्स र सोही एम्बुलेन्समा सवार एकजना व्यक्तिलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्