भारु सहटीको मोडालिटीमाथि छलफल जारी अन्य देशबाट भारु आयो भने कसरी रोक्छौंः आरबीआई



दीपेन्द्र थापा, काठमाडौं

तिबन्धित भारु पाँच सय र हजार दरका नोट सटहीबारे छलफल गर्न भारतीय टोली नेपाल आएको छ। रिजर्व बैंक अफ इण्डिया (आरबीआई) का करेन्सी म्यानेजमेन्ट र बैंक सुपरिभिजन डिपार्टमेन्टका कार्यकारी निर्देशकसहितको टोली मंगलबार दिउँसो नेपाल आइपुगेको हो।

नेपाल आएलगत्तै छलफल नोट सहटीका विषयमा शुरू भएको थियो। नेपाल राष्ट्र बैंकको वैदेशिक विनिमय व्यवस्थापन विभागका प्रमुख भीष्मराज ढुंगानाका अनुसार आरबीआईको टोलीले नेपालका बैंकहरूले केवाईसी कसरी कार्यान्वयन गरिरहेका छन् भनेर चासो व्यक्त गरेको छ। नेपालका बैकहरूले कुन आधारमा भारतीय रुपियाँ सटही गर्ने हो भन्ने विषयमा भारतीय पक्षले चासो राखेको ढंगानाले बताउनुभयो। भारतीय टोलीले नेपालका बैंकमा अरू देशबाट भारु नोट सटही गर्न आए रोक्ने उपाय के छन् ? नेपालमा केवाईसीको प्रक्रिया र विधिमा चासो राख्दै कारबाहीका लागि भएको व्यवस्था र अनुगमन तरिकाका विषयमा चासो राखेको ढुंगानाको भनाइ छ। ‘मंगलबारको बैठक भनेको प्राविधिक बैठक हो, उहाँहरूलाई यहाँको वस्तुस्थिति जानकारी गराएपछि भारतीय टोलीले भारत फर्केपछि यहाँको अध्ययन प्रतिवेदन पेस गर्ने छ। त्यही अध्ययन प्रतिवेदनको आधारमा सटहीको प्रक्रिया अगाडि बढ्ने सम्भावना रहेको छ। ढुंगानाले भन्नुभयो–‘ पहिलो चरणमा भएको छलफलपछि बुधबार भारतीय टोलीले वाणिज्य बैंकका प्रतिनिधिसँग पनि छलफल गर्ने प्रस्ताव राखेको छ। भारतीय टोलीको प्रस्तावकै आधारमा राष्ट्र बैंकले बुधबार विहानका लागि सबै वाणिज्य बैंकका प्रतिनिधिसँग छलफलका लागि कार्यक्रम राखेको। भारतीय टोलीले बुधबार दिउँसो नै डेपुटी गभर्नर र गभर्नरलाई छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम छ।

नेपालको वस्तु स्थितिको औपचरिक भ्रमणपछि बिहीबार भारतीय टोली भारु सटहीकै विषयमा छलफल गर्न भुटान जाने बताइएको छ। प्रतिबन्धित भारु सटहीबारे भारतीय टोलीसँग पहिलोपटक नेपालमा छलफल भएको छ। ढुंगानाका अनुसार सटहीको प्रक्रिया अगाडि बढाउन भारतीय पक्ष सकरात्मक देखिएको छ, छलफलपछि नतिजा परिणाममुखी हुनेमा राष्ट्र बैंक आशाबादी छ।यसअघि नेपालमा रहेको प्रतिबन्धित भारु नोट सटही सहजीकरणका लागि राष्ट्र बैंकले डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयको प्रतिनिधिमण्डल र भारतस्थित नेपाली राजदूताबासका इकोनोमिक मिनिस्टरको टोली भारत पठाएको थियो। त्यतिबेला नै भारु सटहीको मोडालिटीको विषयमा छलफल भए पनि निर्णय हुन सकेको छैन।

स्रोतका अनुसार भारतीय पक्षलाई नेपालमा रहेको भारुका विषयमा आशंका रहँदै आएको छ। नेपालमा भारु कालोधन सहटी भएको हुन सक्नेतर्फ भारतीय पक्षले आंशका गरेको हो। भारतले विभिन्न स्रोतबाट कालोधन नेपाल पुगेको र त्यसलाई वैधानिक तरिकाबाट सटही हुन सक्नेतर्फ नेपाली अधिकारीको ध्यानाकर्षण गराउँदै आएको छ। ढुंगानाका अनुसार भारु सटहीका विषयमा छलफल गर्न भारत पुगेको नेपालीे टोलीलाई नेपालमा रहको भारु नोट अरू कसैबाट लिएर सटही गरेको होइन र यस्तो गरेको पाइएमा प्रचलित कानुन बमोजिम दण्ड र कारबाही भोग्न तयार छौं भनेर हस्ताक्षर नै गराएको छ। नेपालको बैकिङ प्रणालीमा ३ अर्ब ३६ लाख ९० हजार भारु छ भने बैंकिङ प्रणाली बाहिर १० अर्बभन्दा बढी रहेको अनुमान गरिएको छ।

नोटमा प्रतिबन्ध लाग्नु पूर्व नेपालमा २५ हजार भारुसम्म व्यक्तिले राख्न सक्ने नियम रहेको हुँदा नेपाली पक्षले २५ हजार भारु व्यक्तिले बैंक खातामा जम्मा गर्ने र त्यसअनुसारको नेपाली रुपियाँ भुक्तानी दिने जम्मा भएको भारुको भुत्तानी भारतबाट लिने प्रस्ताव गर्दै आएको छ।
भारतले कात्तिक २३ गते राति १२ बजेदेखि भारु पाँच सय र एक हजार दरको नोटमा प्रतिबन्ध लगाएपछि नेपालमा भारुको संकट बढ्दै गएको छ। सीमार्वी बजारमा कारोबार तथा भारतमा रोजगारीमा रहेका विद्यार्थी, व्यापारी, औषधि उपचार गर्नेलाई समस्या हुँदै आएको। यसैबीच नेपाल राष्ट्र बैंकले वार्षिक ६ अर्ब भारु रिजर्व बैंक अफ इण्डिया (आरबीआई) मार्पmत लिँदै आएको छ। तर, अघिल्लो साता राष्ट्र बैंकले डलर बिक्री गरेर १ खर्ब ३३ अर्ब १० करोड ३८ लाख भारु खरिद गरेको थियो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनमा ५१ प्रतिशतले बढी हो।

गत आर्थिक वर्षको पहिलो छ महिनामा ८८ अर्ब ११ करोड ७५ लाख भारु सहटी गरेको थियो। भारतले पाँचले पाँच सय र हजार दरको नोटमा प्रतिबन्ध लगाएपछि नेपालमा भारु संकट गहिरिँदै गएकाले राष्ट्र बैंकले पुसमा एक अर्ब बराबरको सय दरको नोट खरिद गरेको थियो। हालसम्म नेपाल राष्ट्र बैंकले रिजर्व बैंक अफ इण्डियाबाट नियमित प्रक्रिया अन्तर्गत करिब २ अर्ब २० करोड भारु खरिद गरेको छ। स्रोतका अनुसार रिजर्व बैंक अफ इण्डियाले नेपालमा अन्य दरका भारु नोट बिक्रीमा पनि कडाइ गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्