खेलाडीलाई सम्मान



नेपाल समाचारपत्र
काठमाडौं
गिनिज बुकमा नाम लेखाउन सफल पूर्वराष्ट्रिय धावक हरिबहादुर रोकाया मंगलबार गजराज जोशी आदर्श खेल व्यक्तित्व पुरस्कारबाट सम्मानित भएका छन्।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आयोजना गरेको वर्षका उत्कृष्ट खेलाडी अवार्ड वितरण कार्यक्रममा तीनपटक एभरेस्ट म्याराथन विजेता रोकायालाई सम्मान गरेको हो। रोकायालाई पूर्वअर्थमन्त्री शंकर कोइरालाले सम्मानपत्र र फाउन्डेसनका अध्यक्ष मनीष जोशीले नगद २५ हजार प्रदान गर्नुभयो। हाल रोकाया एथ्लेटिक्सतर्फ प्रशिक्षकको भूमिका रहेका छन्।

गजराज नेपालबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने पहिलो नेपाली खेलाडी हुन्। सोहीअनुसार उनी पहिलो अन्तर्राष्ट्रिय खेलाडी बने। उनले भारतको नयाँ दिल्लीमा सन् १९५१ मा आयोजित पहिलो एसियाली खेलकुदअन्तर्गत म्याराथनमा प्रतिस्पर्धा गरेका थिए। विशेष गरी खेलाडीलाई प्रोत्साहन गर्ने कार्यमा सक्रिय फाउन्डेसन उनैको नाममा उनका छोरा मनीषले स्थापना गरेका हुन्।

सोही अवसरमा १२औं दक्षिण एसियाली खेलकुद (साग) मा समावेश खेलहरूलाई आधार मानी सम्बन्धित खेलका राष्ट्रिय संघहरूले सिफारिस गरेका २२ खेलाडीहरूलाई पनि खेलाडी संघले सम्मान गर्यो।

सम्मानित हुनेमा भारोत्तोलनका विकास थापा, फुटबलका नवयुग श्रेष्ठ, भलिबलकी सरस्वती चौधरी, तेक्वान्दोका वीरबहादुर महरा, कुस्तीका सरोज यादव, आर्चरीका प्रेमप्रसाद पुन, स्क्वासका अरहान्तकेशर सिंह, बक्सिङकी सरस्वती राना, ब्याडमिन्टनकी नङ्शलदेवी तामाङ, जुडोकी फुपुल्हामु खत्री, सुटिङकी स्नेहाराज्यलक्ष्मी राणा, साइक्लिङका अजय पण्डित, ट्रायथलनकी रोजा केसी, कबड्डीकी शान्ति मल्ल, टेनिसका अभिषेक बाँस्तोला रहेका छन्।
यस्तै हक्कीकी कुश्मा राना मगर, खोखोकी अर्पणाकुमारी महतो, पौडीकी गौरिका सिंह, उसुकी नीमा घर्ती मगर, टेबलटेनिसका दीप साउन, ह्यान्डबलकी रञ्जना राई र एथ्लेटिक्सका हरिकुमार रिमाल पनि सम्मानित भए।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायतले सम्मानित खेलाडीलाई जनही १० हजार नगद प्रदान गरे। उसुकी निमालाई गायक हेमन्त रानाले छुट्टै १० हजार नगद प्रदान गरे। राना आफै पनि उसु खेलाडी भएकाले निमालाई सम्मान गरिएको बताइएको थियो।

कार्यक्रममा हेमन्तसहित योगेश्वर अमात्यले गीत प्रस्तुत गरेका थिए भने हांस्य कलाकार सन्दीप क्षेत्रीले व्यङ्ग्यात्मक प्रस्तुतीबाट उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्