चुनावको मिति घोषणासँगै डोटीका नेताहरू गाउँ केन्द्रित अभियानमा



विमल विष्ट, डोटी
सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै डोटीका विभिन्न राजनैतिक पार्टीका नेताहरू गाउँ केन्द्रित भएका छन्। लामो समयदेखि काठमाडौं, धनगढी तथा क्षेत्रीय सदरमुकाम दीपायलमै बस्दै आएका अधिकांश नेताहरू चुनाव घोषणा भएसँगै धमाधम गाउँ पस्न थालेका छन्। चुनाव घोषणा भएपछि यहाँका दलहरूले आफ्ना कार्यक्रम पनि गाउँ केन्द्रित गरेको घण्टेश्वर गाविस गोगनपानीका स्थानीय भक्तबहादुर आलेले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘चुनाव घोषणा भएसँगै यहाँका दलहरूले आफ्ना आमसभादेखि अन्य विभिन्न कार्यक्रम गाउँ केन्द्रित गरेका छन्, अहिले जिल्लामा नेताहरू बिरलै भेटिन्छन्। स्थानीय निकाएको चुनाव घोषणासँगै यहाँका सभासद्हरू वीरबहादुर बलायर, प्रेमबहादुर आलेमगर, गौरी वली, कल्पना सोव तथा भरत खड्का पनि आफ्ना पार्टीका कार्यक्रम लिएर गाउँ केन्द्रित भएका छन्। उनीहरूले यहाँका गाउँ–गाउँमा आफ्ना कार्यक्रमहरू गरिरहेका छन्। सभासद्हरू आ–आफ्ना कार्यकर्ता तथा दलबलका साथ गाउँ पसेपछि यहाँको माहोल झनै तातेको स्थानीयबासी बताउँछन्।

राजनैतिक दलका नेताहरू गाउँमा गएर आ–आफ्ना कार्यक्रम गर्न थालेपछि यहाँका गाउँमा एकाएक चहलपहल बढेको जोरायलका कर्णबहादुर महराले बताउनुभयो। उहाँले भन्नुभयो– ‘दिनहुँ फरक–फरक पार्टीका आमसभा हुन थालेपछि यहाँको माहोल नै चुनावमय हुनुको साथै गाउँमा निकै चहपपहल बढेको छ। दुई दशकपछि स्थानीय निकायको चुनाव हुन थालेपछि यहाँका स्थानीय पनि निकै खुसी भएका छन्। झन्डै दुई दशकपछि स्थानीयले जनप्रतिनिधि पाउनुका साथै नेपालको संविधान कार्यान्वयन हुने भन्दै जिल्ला सदरमुकामदेखि गाउँ–गाउँका स्थानीयबासी खुसी भएको गड्सेरा गाविसकाका पूर्वगााविस अध्यक्ष मेखराज भट्टले बताउनुभयो। नेपालको संविधान कार्यान्वयनको पहिलो आधारका रूपमा स्थानीय तहको निर्वाचन हुन लागेको भन्दै चिया पसलदेखि बजारका चोक–चोकमा स्थानीय छलफलमा व्यस्त हुने गर्छन््।

तोकिएकै समयमा स्थानीय तहको निर्वाचन गर्नसमेत डोटीबासीले माग गरेका छन्। उम्मेदवार चयनका लागि जिल्लास्तरका राजनीतिक दलसमेत छलफलमा व्यस्त हुन थालेका छन्। त्यस्तै यहाँका स्थानीय जनप्रतिनिधिमा कसलाई र कुन पार्टीको उम्मेदवारलाई भोट दिने भन्ने बारेमा समेत छलफल गर्न थालेका छन्।
साथै, आन्दोलनको घोषणा गरेका मधेसवादी दललाई समेत लामो समयपछि हुन लागेको स्थानीय निकायको चुनावमा सहभागी गराउन ठूला राजनीतिक दललाई डोटीबासीले आग्रहसमेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्