सुनसरीका सयौं बालबालिका बेचिएको खुलासा



शशि कोइराला, इनरुवा
नसरी जिल्लाका गाउँ–गाउँबाट मानव ओसारपसार गर्ने दलालहरूले सयौं बालकलाई रोजगारीका नाममा भारत लैजाने गरेको खुलासा भएको छ।

सुनसरीको डुम्राहा, भोक्राहा, मधुवन, सत्तेरझोरा, सिमरिया, भरौल, सिंगियालगायतका स्थानबाट भारतको पन्जाबलगायतका ठाउँमा रोजगारीमा लगाइदिने भन्दै मानव ओसारपसार गर्ने दलालहरूले बिक्री गर्ने गरेको खुलासा भएको हो।

सयौं दलित गरिब मुसहर, खत्वे, उराँव, सरदारलगायतका परिवारका १२ वर्षदेखि १८ वर्षसम्म उमेर समूहका बालकलाई कृषि कामदारका रूपमा भारतको हरियाणा पन्जाबसम्म लगेर साहुको जिम्मा लगाउने गरेको पीडित परिवारहरूले बताएका छन्।

डुम्राहा–७ का कुसुमलाल ऋषिदेवका अनुसार गाउँबाट ७ जना किशोरलाई दशैंअगाडि पन्जाब लगिएको थियो। तीमध्ये तीन जना जोखिमपूर्ण काममा लागेकाले काम गर्ने ठाउँबाट भागेर एक हप्ता अगाडि घर फर्की आएपछि त्यस्तो कारोवारको रहस्य खुलेको हो।

उनीहरूलाई साहुले तिमीहरूको अभिभावकले अग्रिम तलबबापतको रकम लगिसकेको भन्दै तलब दिन नमानेपछि निःशुल्क काम गर्न इन्कार गर्दा थुनेर राख्न थालेकाले मौका मिलाई भागेर आएको घटना उनीहरूले बताएपछि दलालले बिक्री गर्ने गरेको परिवारजनले थाहा पाएको कुसुमलालले बताए।

हाल भागेर आएका बालकहरूको सहयोगमा अन्य बालकलाई घर फिर्ता ल्याउनका लागि एक दर्जन अभिभावक हरियाणा र पन्जाबतर्फ गएकाले उनीहरू फर्किएर आएपछि सबैको वास्तविक स्थिति खुल्ने भोक्राहाका झमेली सदाले बताए।
उनीहरूले डुम्राहा, भोक्राहा, मधुवन, सतेरझोरा, सिमरिया, भरौल, सिंगियाबाट कामका लागि गएका सबै बालकहरूका अभिभावकलाई दलालले मासिक १० देखि १५ हजार भारु कमाई हुने, खान–बस्न साहुले दिने, आउने–जाने गाडी ट्रेनको भाडा खर्चसमेत दिने र ३ महिनामा एकपल्ट घर आउने १० दिनको छुट्टीसमेत पाउनेलगायतका लोभ देखाएर लगेको बताएका छन्।

सरकारी सुविधा र अनुदानमा हरियाणा र पन्जाबमा स्थानीय किसानहरूले हजारौं हेक्टर जमिनमा आधुनिक खेतीसँगै पशुपालन गर्ने र स्थानीय कामदार अभावमा बाहिरबाट उनीहरूले कामदार मगाउने गरेको जानकारी दलालहरूले नेपाली मजदुर बालकका अभिभावकलाई दिने गरेका छन्। पछिल्लो ६ महिनाको अवधिमा सुनसरीबाट ४ सय ५० भन्दा बढीको संख्यामा बालक कामदारलाई भारतमा लगिएको अनुमान गरिएको छ। सुनसरीको सत्तेरझोरा र सोनापुर घर बताउने चार जनाको समूहमा रहेका दलालले भारतीय एजेन्टलाई इनरुवामा राखेर गाउँ–गाउँबाट कामदार खोजी भान्टाबारी सीमानाकाबाट भीमनगर, वीरपुर हँुदै त्यसतर्फ लैजाने गरेको बालकका अभिभावकहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्