आँखाको कथा



अशोक सिलवाल
पढ्ने टुंगो पनि लागेको थिएन, एसएलसीपछि। आँखामा मात्र होइन, जीवनमा नै अध्याँरो आउँदै थियो, गाढा हुँदै।

भाइस प्रिन्सिपलले भने, ‘तिमीहरु जस्ताका लागि सानो ठिमीमा कलेज छ। त्यहाँ गएर बुझ।

त्यतिखेर उसको मनमा चस्स भएको थियो, ‘ए म फरक पो रहेछु त।
उसलाई धेरै दिनसम्म एउटै शब्दले हानिरह्यो, ‘तिमीहरुजस्तो, तिमीहरुजस्तो, तिमीहरुजस्तो …।

सानो ठिमीमा ऊ गई पनि। दृष्टिवि हीन साथीहरु पहिलोचेटि नजिकबाट देखी। ब्रेल अक्षर (लिपी) हुन्छ भन्ने पनि उसले त्यहीँ थाहा पाई।

‘मेरो आँखा कमजोर छ तर यो स्थायी समस्या हो भन्ने उसलाई लागिसकेको थिएन। तर, उसले पछि समस्यालाई अवस्थाका रूपमा बुझी। अहिले ऊ दृष्टिविहीनतालाई समस्या हो भन्यो भने जंगिन्छे। र, भन्छे, ‘यो त एउटा अवस्था मात्र हो।

एउटै आशाले ऊ बेलाबेला वा सधैंजसो उज्यालिन्थी, ‘निको हुन्छ। मेरो आँखा निको हुन्छ।

ब्रेलको अक्षर जब पहिलो पल्ट उसले छामी, सबै डट डट डट मात्र।

‘ओहो⁄ म त यो सक्दिन, ब्रेल लिपीलाई छोएर उसले पहिलोपल्ट बोलेकी थिई।
‘यो अक्षर मेरो होइन। यो लिपी मेरो लागि होइन, उसले थपेकी थिई।

जीवनको नयाँ अध्याय शुरु हुँदै थियो। स्कुलको लामो अध्याय सकिएर कलेजको नयाँ अध्याय शुरु गर्ने बेला। एउटा खास संक्रमण। एउटा चरणबाट अर्को चरणको मुखमा थिई ऊ।

संगैका साथीहरु उत्साहमा थिए। प्रोत्साहनमा थिए। उज्यालोमा थिए। खुसीमा थिए। तर, उसका लागि अध्याँरो झन् गाढा हुँदै थियो। अध्याँरो स्वयम् हतियार भएर उसलाई प्रहार गर्दै थियो।

ऊ थप विक्षिप्त भई।

के पढ्ने होइन बरु पढ्ने कि नपढ्ने ? पढे पनि कसरी पढ्ने ? ऊ यो स्थिति र मनोविज्ञानमा थिई।

कतिपय आफन्त घरमा आउँथे र ममीलाई भन्थे, ‘तिम्रो छोरीलाई अब पढाउन जरुरी छैन। अब पढाएर काम पनि छैन। उसको जिन्दगी यस्तै हो।
उसलाई अनुत्पादक क्षेत्रजस्तो ठाने, आफन्तले।

उसले नदेख्नुमा कतिले ममीलाई समेत दोष लाए, ‘तैंले गरेर हो। जाबो एउटी छोरीको पनि ख्याल गर्न सकिनस्। उपचार गर्न सकिनस्। आफैले खाल्डोमा पारिस्।

कहिले उसकै सामुन्नेमा त कहिले उसले थाहा नपाउने गरी आफन्तले घोच्थे ममीलाई। उसलाई त्यो सुनेर अझ नरमाइलो लाग्थ्यो। नरमाइलो मिसिएर अध्याँरो झन् गाढा हुन्थ्यो।

ममीले उसको लागि कति गरिरहेकी थिईन्, त्यो त उसैलाई थाहा थियो। कति अस्पताल धाइरहेकी छिन् ? उसको आँखा बचाउन कति कोशिस गरिरहेकी छिन् ? आदि।

त्यहीक्रममा आँखा अस्पताल गए, आमा छोरी। त्यहाँ अर्को एकजना डाक्टरलाई पनि देखाए, हुन्छ कि भनेर।

उसलाई नलगेको कुनै अस्पताल थिएन होला, काठमान्डुमा।आँखा एकदम दुख्न थालेको थियो, फुट्लाजसरी। आँखा नै थरर हुन्थ्यो। टाउको नै उठाउन नसक्ने गरी दुख्थ्यो।

‘जलविन्दु भनेकै दुख्ने हो। बरु उसको आँखा नै सुकाइदिउँ। इलेक्ट्रिसिटीले सेकेर आँखा सुकाइदिउँ, तपाईको छोरीको आँखा भनेको चुँडिन लागेको धागो हो। चुँडिन्छ। सोमबार आउनुस्। आँखा सुकाइदिन्छु। त्यसपछि दुख्दैन, डाक्टरले ममीलाई उसैले सुन्ने गरी भनेका थिए।

पहिले पहिले पनि अस्पताल गएपिच्छे ममी रुन्थिन्। तर, त्यो दिन डाक्टरले उसकी ममीलाई त्यसो भनेपछि उसको दिमाग ‘ब्ल्यांक भयो। उसले केही सोच्न सकिन। उसको आँखाबाट आँशु पनि झरेन।

ममी ह्वाँ ह्वाँ रोइन। रोइरहिन्। उसले केवल ममी रोएको मात्र देखिरहेकी थिई। केहि छिनपछि उसले सोची, ‘अब म पनि रोएँ भने सम्हाल्ने कसले ? म रुनु हुँदैन। म सम्हालिनु पर्छ।

त्यति बेला उसको मुटु त भारी भएको थियो। तर, ऊ रोइन।

त्यसपछि ऊ अर्कै भइसकेकी थिई, ‘ममी किन रुनुभएको ? तपाई चुप लाग्नुस्। के अब मेरो लाइफ सकियो त ? सकिया छैन नि। नदेखेर के हुन्छ त ? अब मेरो लाइफमा अप्सन के छ ? त्यसबारे सोच्दिनुस्।

त्यसो भन्दै उसले ममीलाई सम्झाएर घर फर्काएकी थिई।

ममीलाइ विभिन्न आक्षेप, प्रत्याक्षेप लगाइरहेको उसले प्रत्यक्ष देखेकी थिई। त्यति खेर ऊ प्रतिकार गरिहाल्न सक्दिनथी। प्रतिकारको भावना थियो तर आँशु मात्र थियो। र, मनमनै इख। ऊ सोच्थी, ‘म केही गरेर देखाउँछु।

एक दिन त्यसरी नै आफन्तको भीडभाडमा बसिरहँदा सबैले पालैपिलो कसैले के कसैले के भनिरहेका थिए। तर, उसले अन्तिमसम्म सहन सकिन। र, रुन थाली।
सट्टामा ममी पनि रोइन्।

एउटा आफन्तले उसको छेउमा भनिन्, ‘नरो नानी। के गर्छेस्, तेरो भाग्य नै यस्तो रहेछ।

ममीले रुँदै त्यतिखेर भनेकी थिइन्, ‘हेर, यो आफूले देखेन भनेर रोएकी होइन। तिमीहरुले प्रत्येक चोटि मलाई लगाएको आरोप देखेसुनेर रोएकी हो। डाक्टरले तिमी अब आँखा देख्दिनौ भन्दा मलाई सम्झाएकी मान्छे यही हो। म यत्ति कुरामा खुशी छु, यो बुझ्ने उमेर भएपछि नदेख्ने भई। सानो उमेरमा नदेख्ने भएको भए र तिमीहरुले प्रत्येक चोटि तैंले गरेर छोरी नदेख्ने भई भने झैं अरु त अरु मेरी छोरीको मनले पनि मेरी ममीले गरेर म नदेख्ने भएँ भन्थ्यो।

त्यसो भन्दै ममी रुदै गर्दा उसले मनमनै गहिरो गरी सोची, ‘ममी यसरी नै रोएको हेर्न चाहन्छु म। तर, दुखले होइन, खुशीले।

कतिले भने, ‘उसलाई पढाएर काम छैन।

अभिभावक पनि त्यही हो, उनीहरुका पनि कान हुन्छन्। कानको सम्बन्ध दिमागसँग हुन्छ। दिमागको काम निणर्य गर्नु वा नगर्नु हो।

पढ्न सक्छ कि सक्दैन ? कहाँ लाने ? कता लाने ? अभिभावकलाई पनि त्यस्तो लाग्दै थियो।

पहिलोचोटि परिवारमा दृष्टिबिहिन थिई, ऊ। आम मान्छेलाई दृष्टिबिहिनताबारे ज्ञान नहुन स्वाभाविक पनि हो।

साथीहरु कलेज बुझ्न गइहेका थिए। तर, ऊ त्यति बेला अरु साथीसँग कलेजहरुचाहिं थुप्रै गई।
साथीहरु ठुल्ठुला कलेज जान्थे, बुझ्न। भर्ना हुन। ऊ साथीसँगै हिंड्दै गर्दा रसाएका आँखा सँगै सोच्थी, ‘यस्ता ठुल्ठुला कलेजमा टेक्न पाउने मात्र मेरो भाग्य रहेछ। हरे !

कृष्टिना। हाइस्कुलकी फस्र्ट गर्ल। खास ऊ कृष्टिनासँग बढी हिंड्ेकी थिई, त्यति बेला। उनीहरुको घर पनि नजिक थियो।

मनीषा भन्ने अर्की सार्थी थिई। मनीषाले पनि उसले जति नै ७० प्रतिशत ल्याएकी थिई, एसएलसीमा।

मनीषालाई कलेजहरुले विशेष ‘डिसकाउन्ट दिदै भर्नाको लागि ‘अफर गथ्र्यो। र, ‘ब्रोसर दिंदै पढ्न आऊ आऊ आऊ, भन्थ्यो।

तर, उसलाई …। भो उसको कुरै नगरौं। उसलाई गरिएको तिरस्कारको कुरै नगरौं।
उसले पढ्ने चाहना गरेका धेरै कलेजले सरदर यही भने, ‘भयो, तपाई नआउनु। अन्तै जानु। त्यसरी प्राइभेट कलेजहरुले उसको भर्ना लिन मानेनन्।

साँझ भक्कानिनु र केही नलागेपछि चुकुल लगाएर कोठामा एक्लै रुनु उसको दैनिकी भएको थियो।

अल्लारे उमेर। टिन एज। उसलाई पनि धारिलो सर्ट, शरीरलाई फिट हुने टाइट पाइन्ट लगाएर चिटिक्क परेको ब्याग बोकेर रामै्र कलेज जान आउन मन थियो।
पढ्ने भन्दा पनि त्यस प्रकारको मोह।

कलेजमा यस्तो उस्तो गर्न पाइन्छ, हाहु गर्न पाइन्छ, अर्कै खालको मस्ती हुन्छ,। उसले पनि यस्तै सुनेकी थिई। सोचेकी थिई।

तर, उसको लागि त्यसको कुनै मूल्य रहेन।

त्यही बेला एकजना आफन्तले भनिन्, ‘त्यसले आँखा देख्दिन। जसले जे पनि गर्न गर्दिन सक्छ। पढिहाले पनि केटीकेटी पढ्ने कलेजमा पढाउन पर्छ।

पीके (पद्मकन्या)मा राख्ने हो कि ? त्यहाँ होस्टेल पनि छ। त्यहाँ सजिलो हुन्छ। घर कलेज ओहारदोहार गर्नु पर्दैन। आदि। त्यस्तो कुरा पनि आएको थियो।
तर, उसलाई पीकेमा पटक्कै मन नलाग्ने। किनभने, उसँग त्यति बेलाको अल्लारे बुद्धि थियो। त्यहाँ सारी लाएर जानुपथ्र्यो।
‘छ्या, सारी लाएर जानुपर्ने सरकारी कलजेमा के पढ्नु ? म त प्राइभेट कलेजमा पढ्ने। म पनि पाइन्ट सर्ट लगाएर पढ्न जाने, उसलाई त्यस्तो रहर थियो।

त्यस्तै क्रममा ऊ एउटा कलेजमा गएकी थिई। नदेखे पनि त्यति बेलासम्म ऊ पावरवाला चश्मा लाउँथी। कालो चश्मा लगाउन थालिसकेकी थिईन। उसले आँखा देख्दिन भन्ने सुरुमा उनीहरुले थाहा पाएनन्। उसलाई एक खालको व्यवहार गरियो।

‘मेरो यति पर्सेन्टेज छ। मैले एड्मिसन पाउँछु ?, उसले आग्रह गरी।

हतारिएर कलेजले भन्यो, ‘किन नपाउनु पाइहाल्नु हुन्छ नि। बरु फर्म भरिहाल्नुस्।
त्यसपछि संगै गएकी साथीले उसको दृष्टि क्षमताबारे बताउँदै कुन बिषय पढ्दा राम्रो हुन्छ भनेर सोधी।

एकाएक कलेज बदलियो। कलेजको स्वर र शब्द बदलियो। कलेजले भन्न थाल्यो, ‘हामीले गोठालो लाग्ने हो र ? हामीले एक एकजनाको समस्या हेर्न कहाँ सक्छौं ?

कलेज प्रतिनिधी अर्कै अवतारमा प्रस्तुत भइरहेको थियो। कति चाँडै मान्छेको रङ बदलिन्छ ?

कलेजको रसहिन र रुखो व्यवहारले उसका आँखा एकाएक रसाए। साथीले भनी, ‘छाड्दे साथी, यस्तो कलेजमा पढ्नु भन्दा नपढ्नु राम्रो।

जति पनि कलेजहरु गई, उसले यस्तै खालको व्यवहार पाई।

ऊ झन्डै झन्डै निराश भइसकेकी थिई।

‘भो अब म पढ्दिन, ऊ सोच्न थालिसकेकी थिई। त्यही भएर उसलाई त्यति बेला, जति बेला पनि बेलुका भइहालोस्, बरु सुतिहाल्थें भन्ने लाग्थ्यो।

अनेक सकसबीच अन्तिममा उसले एउटा कलेजमा भर्ना पाई।

ममीसँग गएकी थिई ऊ, कलेज बुझ्न भनेर।

उसलाई मनमा उही त्रास थियो, ‘अन्य कलेजमा झैं त्यहाँ पनि हुँदैन भन्छ कि। नाक खुम्चाउँछन् कि ? फेरि एक पटक नराम्रो भन्छन् कि ?

कलेज हातामा छिरे। एकाउन्टमा रवि सर रहेछन्। पहिलो पटक उनीसँग भेट भयो।

‘ए, आउनुस् आउनुस्। यति राम्रो मार्क छ। किन पढ्न नसक्नु ? मज्जाले पढ्न सकिन्छ, रवि सरको त्यही भनाई उसको लागि लाख थियो। ऊ त्यतिले खुशी भई।

पहिले पनि फाट्टफुट्ट त्यहाँ दृष्टिबिहिनले पढ्ेका रहेछन्।

उनी थप्न थाले, ‘उनीहरुले झन् राम्ररी पढेका छन्।

त्यही उसको लागि जीवनको आड वाक्य बन्यो, ‘तिमी पढ्न सक्छौं। झन् राम्ररी पढ्न सक्छौ।

कुनै कलेजले नभनेको तर यो कलेजले भन्यो, ‘तिमीले पढ्न सक्छौ। ऊ सोच्दै थिई, खुशी भएर।

संगीतमा उसलाई रुचि थियो। तर, त्यहाँ संगीत विषय थिएन।

जिन्दगीमा अर्थशास्त्र कहिल्यै पढ्दिन भन्ने सोच्थी ऊ। तर, उसले त्यही विषय पढ्नुपर्यो त्यहाँ । संस्कृति उसलाई एकदम झुर विषय लाग्थ्यो। तर, त्यही पढ्नु पर्यो त्यहाँ।

त्यसरी ऊ त्यहाँ पढ््ने भई। तर, उसलाई सीधै फरकै रुपमा हेरिएको थियो। फरक किसिमको मान्छे आएको किसिमले। आँखा नदेख्ने केटी आएको छ रे है हाम्रो क्लासमा भन्दै विद्यार्थीहरु हेर्न आउन थाले।

ऊ एउटा एलियनजस्ती।

उसलाई असाध्यै अप्ठ्यारो लाग्यो। झनै नबोल्ने भई। कसैसँग नबोल्नु बरु सहज थियो उसको लागि।

ऊ कोहीसँग फिटिक्कै बोल्न सक्दिनथी। दाँयाको बायाँ अलिकति हल्लिन पनि उस्तै अप्ठ्यारो लाग्थ्यो।

ऊ मूर्तिवत बस्थी। चुपचाप। हलचलबिहिन।

ममी उसलाई बेन्चसम्म ल्याउँथिन्। र, रुँदै फर्किन्थिन्। जाँदा जाँदै भन्थिन्, ‘ऊसँग बोल है। ऊ यस्तो छे।

‘चिन्ता नगर्नु, हामी छौं, साथीहरु भन्थे।

ममीलाई ठिक्क पारे पनि उसँग कति दिनसम्म कोही बोलेनन्। उसले मनमनै झन्डै निणर्य गरिसकेकी थिई, ‘म कलेज जान्न। र, ‘अब म कलेज जान्न भन्दै रुन्थी, एक्लै।

ऊ फेरि ठान्थी, ‘मैले मेरो निराशालाई निल्नु पर्छ। अरुलाई देखाउनु हुन्न। खासगरी ममीलाई। ममीलाई चोटमाथि चोट पुग्छ।

त्यसरी ऊ आफुलाई तयार पार्थी। र, कलेज जान्थी। कलेजमा प्रत्येक क्षण उसलाई असाध्यै अप्ठ्योरो लाग्थ्यो। त्यो भौतिकभन्दा पनि मनोवैज्ञानिक अप्ठ्यारो थियो।

ऊ सचेत थिई, ‘कलेजको अप्ठ्यारोले घरमा असर नगरोस्। आफु बोझ हुन नपरोस्। आफ्नो बारेमा घरमा टेन्सन नहोस्।

ऊ अझ धेरै सोच्थी, ‘जति पनि टेन्सन छ, मैमा सिमित होस्।

कहिलेकाहीँ ऊ विस्तारै क्लासबाट बाहिर जान्थी। जान खोज्थी। घाममा वा हावामा। तर, साथीहरु चर्किएर भन्थे, ‘बस बस बस। उठ्नै नदिने। उभिनै पनि नदिने। उसलाई त उभिन पनि गाह्रोजस्तो ठान्ने।

बाहिर साथीहरु रमाइलो गफ गरिरहेका हुन्थे। ऊ पनि सुन्न चाहन्थी। सुन्न बाहिर आउन चाहन्थी। अरु साथीहरुजस्तै रमाउन चाहन्थी। तर, साथीहरु उसलाई क्लासमै, अझ बेन्चमै बसिरहोस् भन्ठान्थे, मूर्तिवत्।

क्लासमा यदि ऊ मात्र भई भने साथीहरु भन्थे, ‘ए क्लासमा त कोही पनि रहेनछ। ऊ गणनामै थिइन्।

‘म मान्छे होइन ? किन मेरो गणना हुँदैन ?, उसलाई यसरी दुख्थ्यो।

एक दिन क्लासका सबैले पिकनिक जाने सल्लाह गरेछन्। सबैलाई जानकारी पनि दिए। तर, उसलाई …।

उसलाई कसैले एक वचन ‘जाने हो ? भनेर पनि सोधेनन्।

भोलिपल्ट त क्लासमा कोही थिएनन्। केवल ऊ थिई र सिंगो क्लास कोठा थियो। डेस्क, बेन्च र बोर्ड थियो।

किनभने सबै कलेज बंक गरेर पिकनिक गए।

‘मलाई इन्फर्म गरेको भए पनि म के गर्थें र ? म बोझ नै हुने गरी उनीहरुसँग कहाँ जान्थें र। तर, कम्तीमा मलाई पनि सोधे भन्ने त हुन्थ्यो। मलाई अलिकति पनि ठाउँ दिएनन् उनीहरुले। किन हरेक कुराबाट मलाई पन्छाउँछन् ?, उसले मनमनै यस्तै सोची तर कसैलाई केही भनिन।

तर, अन्तिममा एउटा निष्कर्षमा पुगी, ‘ठिकै छ।

उसले पहिलो चोटि जीवनमा नदेखेको कुरा भनेको आकाशको तारा हो।

उसलाई आकाशमा तारा हेर्न खुब रमाइलो लाग्ने। तर, उसले निकै दिनदेखि तारा देखिन। यो ९, १० क्लास पढ्दाको कुरा हो।

उसले मनमनै सोची, ‘आजकल किन आकाशमा तारा देखिदैन ?

होस्टल बस्दाताकाको कुरा हो। जाडो महिना थियो। साथीहरुसहित ऊ आगो ताप्दै थिई। तर, त्यति बेला पनि उसले तारा देखिन।

‘के हो ? के हो आजकल त तारै देखिदैन। आकाशमा तारै हुँदैन, उसले आगो ताप्दै ठुलो स्वरमा साथीहरुसँग बोली।

‘तिम्रो आँखा गुच्चा हो ? आकाशमा त्यत्रो तारा छ, तर तिमी तारै छैनौ भन्छ्यौ। साथीहरुले एक स्वरमा हाँस्दै भने।

उसको मनमा चस्स भयो। त्यसपछि उसले बल्ल थाहा पाई, ‘ए, मैले त यत्रो दिनदेखि तारा देख्न छाडिसकेको रहेछु।

तर, उसले त्यहाँ कुनै प्रतिकृया जनाइन।

‘गएँ है, भनेर ऊ कोठामा आई। घोप्टो परेर रुन थाली। त्यतिकैमा साथी आइपुगी। नरोएको अभिनय गर्दै साथीको अगाडि उसले गीत गाई, ‘आज आकाशमा एउटा तारा देखिन …।

त्यति बेला चलेको गीत थियो, त्यो। तर, अलिअलि त साथीले पनि थाहा पाई। गीत र उसको आँखाको गति।

जीवनमा यस्ता अनेक घटना भइरहेका थिए।

प्रतिक्रिया दिनुहोस्