शिवपुरीमा उच्च स्तरिय राष्ट्रिय सुरक्षा तालिमको उद्घाटन



काठमाडौं, (नेस)।

शिवपुरीस्थित नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा दोस्रो उच्च स्तरिय राष्ट्रिय सुरक्षा तालिमको उद्घाटन भएको छ । नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षत्रीले मंगलबार एक समारोहकाबीच उद्घाटन गर्नु भएको हो ।

नेपाल सरकार, रक्षा मन्त्रालय र नेपाली सेनाले संयुक्त रुपमा सञ्चालन गरेको दोस्रो उच्च स्तरिय राष्ट्रिय सुरक्षा तालिमको आयोजना गरेको हो ।

तालिमको उद्घाटन गर्दै प्रधान सेनापति क्षत्रीले नीति निर्माणमा संलग्न रहने सरकारी निकायका जिम्मेवार व्यक्तित्वहरुलाई एकत्रित गरि यस प्रकारको तालिम सञ्चालन हुनु आफैंमा महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले यस प्रकारको तालिमले राष्ट्रिय सुरक्षा लगायत राष्ट्र निर्माणका विविध पक्षमा योगदान पुग्ने विश्वास व्यक्त गर्नु भयो । मन्तव्य कै क्रममा उहाँले विविध कारणहरुले थुप्रै चुनौतिहरु देखा परिरहेको अवस्थामा हालको सुरक्षा वातावरण परिवर्तनशिल, अनिश्चित, जटिल तथा अस्पस्ट रहेको बताउनु भयो ।

सोही क्रममा उहाँले परम्परागत रुपमा राष्ट्रिय सुरक्षालाई सैनिक शक्तिसँग जोडेर हेर्ने गरिएकोमा हाल आएर राष्ट्रिय सुरक्षाको दायरा बृहत हुन गई यसले मानव सुरक्षा, खाद्य सुरक्षा, उर्जा सुरक्षा, वातावरण सुरक्षा जस्ता विषयहरुलाई समेत समेटेको उल्लेख गर्नु हुँदै राष्ट्रिय सुरक्षा कुनै पनि राज्यको आकार र अवस्थितिसँग सम्बन्धित नरहेको र उक्त विषय सम्पूर्ण राज्यको लागि उत्तिकै महत्वपूर्ण रहेको समेत बताउनु भयो ।

फागुन २७ गतेसम्म सञ्चालन हुने उक्त तालिममा नेपाल सरकारका विभिन्न निकायका पदाधिकारीहरु तथा नेपाली सेना लगायत अन्य सुरक्षा निकायका अधिकृतहरु गरि जम्मा १८ जना तालिमरत छन् ।

उक्त समुद्घाटन समारोहमा रक्षा सचिव श्री श्रीधर सापकोटा, शसस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धन विभागका प्रमुखहरु, नेपाल सरकार तथा अन्य सुरक्षा अङ्गका विशिष्ट व्यक्तिहरु, नेपाली सेनाका रथीवृन्द, विभिन्न विषयका विज्ञहरु, बुद्धिजीवीहरु, सञ्चारकर्मीहरु एवं सैनिक अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्