तेस्रो एकिकृतवस्तीलाई आर्थिक अभाव



ज्ञानमणि नेपाल, कालोटोपी

महोत्तरी,फागुन, १७ ।
धुर्मुस–सुन्तली फाउण्डेसन र कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को पहलमा महोत्तरीको वर्दिवासमा निर्माणाधिन मुसहरवस्तीका लागि आर्थिक अभाव भएको छ ।

यस अघि काभ्रेको पहरीगाउँमा २१ वटा र सिन्धुपाल्चोकको गिरानचौरमा ६५ वटा घर बनाएर २ वटा एकिकृतवस्ती निर्माण गरिसकेको यो समुहले अहिले निर्माण गरिरहेको तेस्रो एकिकृतवस्तीका लागि आर्थिक अभाव भएको हो । यहाँ ५० वटा घर र एक सामुदायिक भवन समेत निर्माणका लागि ४ करोड ७८ लाखको अनुमानित लागत भएपनि अहिले २ करोड रुपैयाँ नपुग भएको परियोजना संयोजक अर्जुन न्यौपानेले जानकारी दिनु भएको छ ।

आर्थिक स्रोत व्यवस्थापनका लागि कलाकार धुर्मुसजोडी यतिबेला देशविदेश सम्म पुगिरहेका छन् । विभिन्न संस्थाहरुको पहलमा केहि सहयोग पनि आइरहेको छ । अप्ठ्यारो र अभाव भएपनि आगामी बैशाख सम्ममा वस्ती निर्माण सकेर समुदायलाई हस्तान्तरण गरिने लक्ष्य रहेको संयोजक न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुशार हाल ६० प्रतिशत काम सकिएको छ । एकिकृत वस्ती निर्माणसँगै स्थानियवासिहरु पनि खुशि रहेको र उनीहरुले पनि सक्दो सहयोग गरिरहेको बताइएको छ ।

“आर्थिक समस्या भएपनि हामीहरु निराश भएका छैनौं । जसरी पनि हाम्रो लक्ष्य पुरा गर्छौं” संयोजक न्यौपानेले दृढता व्यक्त गर्नुभयो । उहाँले अहिले सम्म निर्माण भइसकेका २ वटा एकिकृत वस्ती र अब निर्माणाधिन मुसहरवस्तीका लागि इञ्जिनियरिङको काम पनि गरिरहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्