गृहमन्त्रीसँग प्रमुख विपक्षी आगो, भन्यो—अवाञ्छित गतिविधि भएमा त्यसको जिम्बेवार सरकार र गृहमन्त्री



काठमाडौं,(नेस) । नेकपा एमालेले गृहमन्त्री विमलेन्द्र निधीले नेकपा (एमाले) ले यही फागुन २१ गतेदेखि आयोजना गर्न लागेको मेची–महाकाली राष्ट्रिय अभियान विथोल्न आह्वान गर्दै हिजो दिएको उत्तेजक अभिव्यक्तिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

राष्ट्रिय एकता, स्वाभिमान, सद्भाव र संविधान कार्यान्वयनका लागि प्रमुख प्रतिपक्षी दलले आयोजना गर्न लागेको कार्यक्रम विथोल्नका लागि गृहमन्त्रीबाटै अभिव्यक्ति आउनु अत्यन्त खेदजनक र निन्दनीय भएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईव्दारा जारी वक्तव्यमा जनाइएको छ । सरकारले घोषणा गरेको स्थानीय निर्वाचन सफल पार्न वातावरणसमेत तयार गर्ने मेची–महाकाली राष्ट्रिय अभियान भाँड्नका लागि मुलुकको शान्ति–सुरक्षाको नेतृत्व गरिरहेको जिम्मेवार व्यक्तिबाट आएको यस्तो अभिव्यक्तिको हाम्रो पार्टी घोर भत्सर्ना गर्दछ, वक्तव्यमा भनिएको छ ।

‘हामीले हाम्रो अभियानलाई व्यवस्थित, अनुशासित र मर्यादित रुपमा सञ्चालन गर्ने गरी तयारी गरिरहेको बेला गृहमन्त्रीबाटै गैरजिम्मेवार र आपत्तिजजनक अभिव्यक्ति सार्वजनिक भएको छ । कार्यक्रममा कुनै अवाञ्छित गतिविधि भएमा त्यसको सम्पूर्ण जिम्मेवारी गृहमन्त्री निधी र सरकारले लिनुपर्ने स्वतः स्पष्ट छ ’ वक्तव्यमा भनिएको छ ।

हाम्रो पार्टीले तराई–मधेसमा समेत निरन्तर रुपमा हासिल गरिरहेको लोकप्रियता र सफलताबाट अत्तालिएर त्यसरी अभिव्यक्ति नदिन, राजनीतिक कार्यक्रमको राजनीतिक रुपमा प्रतिस्पर्धा गर्न र स्थितिलाई भड्काउने खालका कुनै पनि हर्कत नगर्नका लागि नेकपा (एमाले) आह्वान गर्दछ भन्दै वक्तव्यमा भनिएको छ—साथै, त्यस्ता सद्भाव, एकता र लोकतन्त्रविरोधी तत्वहरुसँग सजग रहन हाम्रो पार्टी आमकार्यकर्ता र जनसमुदायलाई अपिल गर्दछ ।

प्रतिक्रिया दिनुहोस्