राष्ट्रपति कुर्सीमा इवान्का



वासिङटन, (एजेन्सी)
डोनाल्ड ट्रम्प अमेरिकाका राष्ट्रपति बनेको एक महिना बितेको केही दिनमात्र भयो तर उनले यो अवधिमा ल्याएका विवाद विश्वकै लागि टाउको दुखाइ बनिसकेको छ। यसले ट्रम्प जति आक्रमक बनिरहेको छ उनको विरोधी, सञ्चारमाध्यम पनि त्यति नै कडा आलोचकका रूपमा प्रस्तुत भइरहेका छन्। ट्रम्पसँगै उनको परिवार पनि विरोधीको निसानामा परिरहेका छन्।

अहिले ट्रम्पकी छोरी इवान्काको एउटा तस्वीरले अमेरिकामा तहल्का मचाइरहेको छ। उक्त तस्वीरमा इवान्का ओवल अफिसमा राष्ट्रपतिको कुर्सीमा बसिरहेकी देखिएकी छिन् भने उनको दाँया–बायाँ स्वयं अमेरिकी राष्ट्रपति ट्रम्प र क्यानाडाका प्रधानमन्त्री जस्टिन टुडो उभिएका छन्।

इभान्काले उक्त तस्वीर आफ्नो ट्विटर एकाउन्टमा शेयर गरेकी थिइन्। यसको माध्यमबाट उनी महिलालाई सकारात्मक सन्देश दिन चाहेकी थिइन्। तर, ट्रम्पविरोधीले त्यसलाई आफ्नै ढंगले व्याख्या गर्दै टिप्पणी गर्न थाले। इवान्काले उक्त तस्वीर शेयर गर्दै लेखेकी छिन्– ‘विश्वका दुई नेतासँग सिटमा बसेकी महिलाका विषयमा महान् चर्चा।’

एक युजर्सले तत्काल अमेरिकामा अहिलेसम्म कुनै महिला राष्ट्रपति नबनेको टिप्पणी पोस्ट गरे। त्यसलगत्तै उक्त कुर्सीमा बस्ने अधिकार त्यही महिलालाई मात्र हुनेछ जो आधिकारीरूपमा अमेरिकाको राष्ट्रपति हुनेछिन, जस्ता टिप्पणीहरू आए। केहीले धनीकी छोरी हुनुको अर्थ जे मनमा आयो गर्न सक्छन् भन्ने होइन भन्ने प्रतिक्रिया दिए। यद्यपि केहीले इवान्काको समर्थनमा पनि लेखेका छन्– ‘यदि यस्तै तस्वीर ओबामाकी छोरीले शेयर गरेकी भए उनीहरुको प्रतिक्रिया त्यस्तै हुने थियो ?’

प्रतिक्रिया दिनुहोस्