धर्मकाया बुद्ध मण्डलाका लागि १ सय ७९ रोपनी जग्गा दान



धन बस्नेत, पोखरा
फेवातालको दक्षिण सिरानमा विश्व शान्ति स्तुप छ। बुद्धको विभिन्न आसनका मूर्ति स्थापित छन्। त्यसको विपरीत दिशामा पर्यटकीय सराङकोट छ। सराङकोटभन्दा होचो झण्डै १४ सय मिटरको उचाइको काहुँडाडाँमा बुद्ध मण्डला निर्माण गरिदैं छ।

पुम्दीकोटमा शिवमूर्ति स्थापना गर्न महायज्ञ सकियो। यता काहुँडाडाँमा बुद्ध मण्डला बनाउन जग्गा दान गरिएको छ। जग्गाको मूल्य बजारको चलन चल्ती अनुसार एक अर्ब रुपियाँभन्दा बढी पर्छ। धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिलाई १ सय ७९ रोपनी जग्गा हस्तान्तरण गरिएको छ।

शान्तिस्तुप हुदैं पोखरालाई बुद्ध सर्किटसँग जोड्दै पर्यटकीय केन्द्र बनाउन शु्रु गरिएको बुद्ध मण्डलाका लागि धारापानी सामुदायिक वन उपभोक्ता समितिले १७९ रोपनी जग्गा हस्तान्तरण गरे। पोखरा उपमहानगरपालिका वडा नं. २१ काँहुडाडाँमा करिब ८० मिटर अग्लो भगवानको मुर्तिसहितको बुद्ध मण्डला स्थापना गरिनेछ।

जग्गा दानसँगै विभिन्न व्यक्तित्वले एक करोड २१ लाख बराबरको भूमिसमेत दानस्वरुप दिएका छन्। काँहु घोताने परिवारका सुवेदार इन्द्रबहादुर गुरुङ, पूर्णकुमारी गुरुङ, सुवेदार प्रेमबहादुर गुरुङ र मिनबहादुर गुरुङले १ रोपनी, खिमबहादुर गुरुङले १ रोपनी र स्वर्गीय आमाबाबाको स्मृतिमा गमबहादुर गुरुङ, रञ्चकुमारी गुरुङले १ रोपनी निजी जग्गा भूमिदान गरेका हुन्।
शुक्रबार काहुँडाडाँमा धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिद्वारा आयोजित भूमिदान कार्यक्रममा वन समितिका तर्फबाट अध्यक्ष कुमार क्षत्रीले समितिद्वारा मण्डला निर्माणका लागि १७९ रोपनी जग्गा स्वामित्व हस्तान्तरण गर्ने निर्णय कार्यक्रम प्रमुख अतिथि बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिका संरक्षक अवतारी साङपा रिम्पोछलाई हस्तान्तरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्