रत्नपार्कको आम्दानी दैनिक २० हजार



हेमन्त जोशी, काठमाडौं

कुनै बेला रत्नपार्क भन्ने बित्तिकै अस्तव्यस्त फुटपाथ पसल र देह व्यापारीको अखडा भन्ने आम बुझाई थियो। तर, अहिले यसको परिचय फेरिएको छ। काठमाडांै महानगरपालिकाले अघिल्लो वर्ष करिब ८० लाख लागतमा पुनर्निर्माण र व्यवस्थापन गरेपछि रत्नपार्कको मुहार फेरिएसँंगै आम्दानी पनि गतिलै गरिरहेको छ।

महानगरपालिकाअन्तर्गतको रत्नपार्क तथा रानी पोखरी एकाई कार्यालयका अनुसार जाडो महिनामा दैनिक करिब १५ देखि २० हजार र गर्मी महिनामा २५ देखि ३० हजार रुपियाँ संकलन हुने गरेको छ। महानगरपालिकाले चालू आर्थिक वर्षको माघ मसान्तसम्म १ करोड ४५ लाख १५ हजार रुपियाँ संकलन भएको जनाएको छ। प्रवेश शुल्कवापत चालू आर्थिक वर्षको माघसम्म ५५ लाख ५१ हजार रुपियाँ संकलन भएको छ। त्यसैगरी छायाँकन शूल्कवापत गत आर्थिक वर्षमा ९० हजार र चालू आर्थिक वर्षको सात महिनाको अवधिमा ९५ हजार रुपियाँ संकलन भएको छ। संकलित रकमको व्याजवापत गत वर्ष ७ हजार र चालू आर्थिक वर्षमा ४ हजार १ सय ३५ रुपियाँ संकलन भएको एकाईको तथ्यांकमा उल्लेख छ।

रत्नपार्कमा प्रवेश गर्नका लागि ४ वटा छुट्टाछुट्टै दरका टिकटको व्यवस्था रहेको रत्नपार्क तथा रानी पोखरी एकाई कार्यालय प्रमुख हरिशरण केसीले बताउनुभयो।
साधारण टिकट २५ रुपियाँ, विद्यार्थी टिकट १५ रुपियाँ, एसियाली मुलुकका नागरिकलाई ५० रुपियाँ र अन्य देशका नागरिकलाई ७५ रुपियाँ प्रवेश शुल्क रहेको छ। तर, शारीरिक अपांगता भएका र ज्येष्ठ नागरिकलाई भने प्रवेश निःशुल्क रहेको छ।

रत्नपार्क परिसरभित्र म्युजिक भिडियो र चलचित्र छायाँंकनका गर्दा शुल्क तिर्नपर्छ। उक्त छायांकन शुल्क निर्धारणका लागि पनि एकाईले निश्चित मापदण्ड तोकेको छ। सानो म्युजिक भिडियो छायांकनका लागि ४ हजार, टेलिचलचित्रका लागि ५ हजार, चलचित्रका लागि ७ हजार र विदेशी चलचित्र छायांकनका लागि १० हजार रुपियाँ प्रतिदिन शुल्क निर्धारण गरिएको छ। २०७२ असार १५ गतेबाट शुल्क लिएरमात्र प्रवेश गर्ने व्यवस्था लागू गरेपछि रत्नपार्कको आम्दानी र स्वरुप फेरिएको छ। महानगरपालिकाअन्तर्गतको वातावरण व्यवस्थापन विभाग र रत्नपार्क तथा रानीपोखरी एकाईबाट अहिले १८ जनाले रोजगारी पाईरहेका छन्। दैनिक सरसफाईका लागि ५, बगैंचा व्यवस्थपन गर्न ६ जना, प्रशासन र सरक्षामा ७ जनाले काम गरिरहेका छन्।

अहिले रत्नपार्कभित्र मेलम्ची खानेपानीको पाइपलाइन बिछ्याउने काम भइरहेको छ। यसले गर्दा केही अव्यवस्थित देखिए पनि एक महिनाभित्रै काम सकेर समस्या समाधान हुने एकाई प्रमुख केसीले बताउनुभयो। साथै नयाँ वर्षलाई मध्यनजर गर्दै नयाँ शौचालय निर्माण, पार्कको रंगरोगन र दुबो बिछ्याउनेलगायतका काम आगामी चैत मसान्तसम्म सक्ने महानगरपालिकाको लक्ष्य रहेको छ। त्यस्तै आगामी आर्थिक वर्षमा पानी परेको बेला मानिसलाई ओत लाग्नका लागि २ वटा नयाँ सेड पनि निर्माण गर्न लागिएको पनि एकाई कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्