उच्चस्तरीय कार्यदलले आज प्रतिवेदन बुझाउने



नेपाल समाचारपत्र
काठमाडौं
स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन सच्याउन गठित उच्चस्तरीय कार्यदलले स्थानीय तहको संख्या बढाउने खाकासहित सरकारलाई आज प्रतिवेदन बुझाउने भएको छ।

उच्चस्तरीय कार्यदलले मधेसी मोर्चालगायत असन्तुष्ट दलहरूलाई मनाउन २ नम्बर प्रदेशमा स्थानीय तहको संख्या वृद्धि गर्ने कार्ययोजना प्रतिवेदन बुझाउन लागेको हो।

यसअघि बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तह पुनर्संरचना प्रतिवेदन सच्याउन समितिले गरेको सिफारिसलाई उचित र मनासिव भएको सैद्धान्तिक निष्कर्ष निकालेको थियो। सोही बैठकले स्थानीय तह संख्या बढाउन कार्ययोजना पेस गर्न समितिलाई सात दिनको समय दिएको थियो। तर, कतिवटा स्थानीय तह थप गर्ने भन्ने कुरामा भने थप गृहकार्य भइरहेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सदस्यसचिव केदारबहादुर अधिकारीले जानकारी दिनुभयो।

सोहीअनुरुप समितिले स्थानीय तहको संख्या बढाउने कार्ययोजनासहित प्रतिवेदन बुझाउन लागेको हो। स्थानीय तह पुनर्संरचना आयोगले अधिकतम ७ सय ४४ स्थानीय तह हुन सक्ने भनेको छ। हाल ७ सय १९ स्थानीय तह सिफारिस गरिएको छ। आयोगले अधिकतम ७ सय ४४ स्थानीय तहको सीमा बनाउने मापदण्ड बनाएकोले त्यसैमा मिलाउने समितिको योजना रहेको छ।

प्रदेश नम्बर २ मा इलाकाका आधारमा स्थानीय तह बनाउने विकल्पबारे गृहकार्य भइरहेको स्थानीय विकास सचिव अधिकारीले जानकारी दिनुभयो। यसका लागि ८ जिल्लाका स्थानीय विकास अधिकारीलाई बोलाएर छलफल गरिएको थियो। प्रदेश नम्बर २ मा १ सय २८ स्थानीय तह हुनेछन्। हाल सो प्रदेशमा १ सय ५ स्थानीय तह छन्। सोमबार दुई नम्बर प्रदेशका स्थानीय विकास अधिकारी, विज्ञ र मन्त्रालयका अधिकारीबीच विभिन्न चरणका छलफल गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्