कांग्रेस–माओवादीका विद्रोही सांसदलाई के होला? ‘ह्विप नमाने कारबाही’



नेपाल समाचारपत्र
काठमाडौं
सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सरकारले व्यवस्थापिका संसद्मा दर्ता गराएको संविधान संशोधन विधेयकमाथि संशोधन हाल्ने चार सांसदलाई पार्टी नीति विपरीत अगाडि बढे कारबाही गर्ने चेतावनी दिएको छ। संसद्मा पेस गरेको विधेयक पारित गराउन ह्विप जारी गर्दा पनि विपक्षमा मतदान गर्ने सांसदलाई कारबाही गर्ने चेतावनी दिएको हो।

सरकारले ल्याएको संविधान संशोधन विधेयक जनताको चाहना र भावना विपरीत भएको भन्दै नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी, धनराज गुरुङ, अमरबहादुर पुन र नेकपा माओवादी केन्द्रका सांसद टोपबहादुर रायमाझीले संशोधनमाथि संशोधन प्रस्ताव दर्ता गराएका थिए।

नेपाली कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले सांसदले छुट्टै संशोधन विधेयक दर्ता गराउन पाउने भए पनि पार्टीको नीति विपरीत जान नसक्ने बताउनुभयो। उहाँले सरकारले अगाडि बढाएको संविधान संशोधन विधेयक पारित गराउन पार्टी प्रतिबद्ध रहेको बताउँदै पार्टीले संस्थागत निर्णय गरेर संशोधन दर्ता नभएको बताउनुभयो। श्रेष्ठले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘सत्तारूढ दल कांग्रेस र माओवादीले संसद्मा पेस गरेकै प्रस्ताव पारित गर्छन्, पार्टीको ह्विप र निर्णय नमान्नेलाई कारबाही हुन्छ।’ संविधान सशोधन विधेयक मधेसी मोर्चा, प्रमुख प्रतिपक्ष दल एमाले र सत्तारूढ दलबीच सहमति भएको अवस्थामा तलमाथि हुन सक्ने बताउँदै उहाँले संशोधन प्रस्तावको विषयमा कांग्रेस र माओवादीबीच छलफल हुने बताउनुभयो।

संविधान संशोधन विधेयकमाथि परेको प्रस्तावमाथि कसरी अगाडि बढ्ने भन्ने बारेमा सत्तारूढ दल कांग्रेस र माओवादीले आन्तरिक छलफल थालेका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बीचमा पनि छलफल भएको छ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक टेकहादुर बस्नेतले संविधान संशोधन विधेयकमाथि पार्टीका तर्फबाट परेको संशोधनमाथि थप संशोधन प्रस्ताव पार्टीको संस्थागत निर्णय नभएको बताउनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘सरकारले संसद्मा पेस गरेकै विधेयक पारित गराउन पार्टीले ह्विप जारी गर्छ। यदि यस्तो अवस्थामा पनि नमान्ने सांसदमाथि पार्टीको विधि र प्रद्धतिअनुसार कारबाही हुन्छ।’

माओवादीबाट टोपहादुर रायमाझीले सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथि विरोध गर्दै आउनुभएको छ। सांसद रायमाझीले संविधान संशोधन विधेयक भोटिङमै नजाने, यदि गएको अवस्थामा पनि फेल हुने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्