पैसाका निम्ति गाईपालेको होइन तर ‘सिस्टम’बसाल्नु छ



फाल्गुन, १६ डोटी । रुचिकै कारण अठतीस वर्षका एक कानुन व्यवसायी गाईपालनतर्फ आकर्षित भएका छन् ।

कानुन व्यवसयसंगै काठमाडौँमा आठ वर्षसम्म एनजिओको जागिरे समेत हुनुभएका रवि श्रेष्ठले व्यावसायिक कृषक बन्ने चाहनाले नै दहचोकमा कुखुरापालन, बाख्रापालन, गाईपालन र तरकारीखेती समेत गर्दै आउनुभएको थियो ।

यसबाट सन्तुष्ठ नभएपछि उहाँले आफ्नै गृहजिल्ला डोटीमा गएर गाईपालन व्यवसाय सुरु गर्नुभएको हो । जिल्लाको समष्टिगत विकासका निम्ति आत्मनिर्भर हुन व्यवसाय गर्नुपर्छ भन्ने सोचले आफूले यस व्यवसाय अङ्गालेका श्रेष्ठले बताउनुभयो ।

राससको जिज्ञासामा उहाँले “आफ्नो बाल्यकालदेखिको रुचि कृषि व्यवसाय नै थियो तर समय र परिस्थितिले कानुन व्यवसायी र एनजिओकर्मी बनायो’’ उहाँले भन्नुभयो, “ रुडुक भन्ने संस्थामा जागिरे हुँदा डोटीलगायतका नेपालका धेरै ठाउँ घुम्दा व्यावसायिक रुपमा गरेका गाई, भैंँसी, बाख्रा, कुखुरापालनले त्यसैबेलादेखि नै मनमा डेरा जमाइसकेको थियो । अन्तत आफ्नै जन्मभूमि डोटीले आफूलाई यो व्यवसायतर्फ तानेको हो ।”

“व्यवसयका लागि डोटीमा प्रशस्त सम्भावना छन् तर यहाँ सिस्टम छैन । त्यसका निम्ति आफू नै अग्रसर भएको हूँ ।” श्रेष्ठले उल्लेख गर्नुभयो ।

डोटीमा गाईभैँसी  , बाख्रा, कुखुरा नपाल्ने कोही छैनन् तर ती सबै निवार्हमुखी मात्रै बनेका छन् । खानकै लागि ऋण काढेर दुहुनो गाईभैँसी खोज्ने तर दुहुन छुटेपछि थोरै मूल्यमा बिक्री गर्ने, पुनः ऋण काढेर अर्को खोज्ने गर्नाले यहाँ झन गरिबी बढेको उहाँको भनाइ छ ।

कतिपय युवा यो पेसा गर्न अपठेरो मान्ने तर भारतलगायत खाडीमूलुकमा श्रम बेच्न जाने उनीहरुको कामको कुनै निश्चित छैन तर पनि जोखिमपूर्ण काम गर्न बाध्य बनेका छन् । आफ्ना लागि कमाएर खानका निम्ति जमिन नभएका कोही छैनन् तर सोच नै गरिब भएका कारण उनीहरु झन गरिब बन्दै गएको देखिन्छ भन्नुहुन्छ व्यवसायी श्रेष्ठ ।

करिब रु ३० लाखको लगानीमा सिलगढी नगरपालिका– ६ स्थित चिसापानी भन्ने ठाउँमा १६ वटा गाई पाल्नुभएका उहाँले प्रतिदिन ६० लिटरभन्दा बढी दूध बजारमा पठाउने गरेको र पाँच जनालाई रोजगारी पनि दिनुभएको छ । यस व्यवसायले सिलगढीमा दूधको आपूर्ति सहज भएको छ । भनेको समयमा यहाँका होटेल व्यवसायीले दूध पाएका छन् ।

डोटीमा अहिलेसम्म व्यावसायिक रुपमा गाईपालन नभएकाले बजारमा पनिर, चिज खोज्दा नपाइने गरेको तीतो यथार्थ समेत श्रेष्ठले सुनाउनुभयो ।

डोटीस्थित सेती प्राविधिक शिक्षालयको भेटनरी तर्फका विद्यार्थीका लागि रिसर्च सेन्टर बनाउने सोचमा रहनुभएका उहाँले आगामी दिन गाईको गहुँत र गोबरसमेत बिक्री हुने आशा राख्नुभएको छ ।

सिङ्गो सुदूरपश्चिमका युवाको प्रतिनिधित्व गर्दै गाई पालनमा उदाहरणीय पात्र बन्नुभएकका श्रेष्ठलाई प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद शर्मालगायतका जिल्लाका सरकारी र गैरसरकारी निकायलेसुभेच्छासमेत दिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्