चन्दा सङ्कलन गरेर शिक्षकलाई तलब



दाङ, १६ फागुन ।
यहाँको एक विद्यालयले गाउँलेबाट चन्दा सङ्कलन गरेर शिक्षकलाई तलब दिने गरेको छ ।

दाङको तुलसीपुर नगरपालिका–७ मा रहेको आधारभुक्त विद्यालय, प्रतावकोटले विद्यालयमा दरवन्दीअनुसारका शिक्षक नहुँदा निजी स्रोतबाट शिक्षकलाई व्यवस्था गरेको विद्यालयका प्रधानाध्यापक फस्टबहादुर रानाले बताउनुभयो ।

विद्यालयमा ६ जना विद्यालयले निजी स्रोतमा राखेको र उनीहरुलाई दिने तलब गाउँले र सामुदायिक वनबाट उठाउने गरेको रानाले जानकारी दिनुभयो । प्रतिघर वार्षिक रु ८०० र रिठेकोट, धर्मशाला सामुदायिक वनबाट अपुग रकम ल्याएर छ जना शिक्षकलाई तलब दिएर विद्यालयमा पठनपाठन सञ्चालन गर्नुपर्ने बाध्यता रहेको विद्यालयले जनाएको छ ।

हाल विद्यालयमा दरबन्दीमा तीनजना मात्र शिक्षक रहेका छन् । “दरबन्दीमा तीनजना मात्र शिक्षक छन्, राहत एकजना, बाल विकास एकजना र अन्य एकजना शिक्षक”– रानाले भन्नुभयो ।

विद्यालयमा १५० जना विद्यार्थी रहेका छन् । पटकपटक जिल्ला शिक्षा कार्यालयमा शिक्षकको माग गरिए पनि सरोकार निकायहरु त्यसबारे जानकारी गराउँदा कहीँ कतैबाट सुनुवाइ नभएको प्रधानाध्यापक रानाले बताउनुभयो ।

भौगोलिक विकटताका कारण पछाडि परेको तुलसीपुर–७ मा रहेको यस विद्यालयको भवन जीर्ण रहेको छ । कक्षा कोठाको अभावमा १ र २ कक्षाका विद्यार्थीलाई सँगै राखेर पढाउन बाध्य भएको विद्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्