मोर्चाद्वारा एमालेको कार्यक्रम विथोल्ने प्रयास



सञ्जय कार्की, रौतहट
रौतहटको सदरमुकाम गौरमा आइतबार आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा एक जना पत्रकारसहित तीन जना घाइते भएका छन्।

नेकपा एमालेले सदरमुकाम गौरमा आयोजना गरेको पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई विथोल्न मधेसी मोर्चाले गौरको बीपी चोकमा विरोध प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको हो। उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई मोर्चाका कार्यकर्ताले प्रवेश गर्न नदिने भन्दै प्रदर्शन गरेपछि झडप भएको हो।

झडपको समाचार संकलन गरिरहेका पत्रकार प्रभातकुमार झालाई सशस्त्र प्रहरीले निर्घात कुटपिट गरेको छ। यस्तै नन्दकिशोर पटेल र प्रहरी जवान रामविनय यादव घाइते भएका छन्। कार्यक्रमको सुरक्षाका लागि ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरिएको थियो। पत्रकारमाथि कुटपिटको विरोध पत्रकारसम्बद्ध संघ–संगठनले विरोध गरेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटको नजिकैको ब्यारेक फिल्डमा नेकपा एमालेले कार्यक्रम राखेको थियो भने त्यसको ४ सय मिटर पर मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो। स्थितिलाई समान्य बनाउन प्रहरीले पाँच राउन्ड अश्रुग्यास प्रहार गरेको थियो। झडप हुँदा ३ घन्टासम्म त्यस क्षेत्र तनावग्रस्त बनेको थियो भने जनजीवनसमेत प्रभावित बनेको थियो। पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल फर्केसँगै स्थिति सामान्य बनेको थियो।

मोर्चाका कार्यकर्ताले वाल्मीकि नगरमा बीआर०६पी ५४६१ नम्बरको भारतीय बोलेरो जिपमा आगजनी गरेका छन्। गौरका समाजसेवी शम्भु साहसहित १५ जनाले नेकपा एमालेमा प्रवेश गरेका छन्। सो कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले वरिष्ठ नेता नेपालले मधेसी समुदायलाई अधिकार दिलाउने पार्टी नेकपा एमाले भएको दाबी गर्नुभयो। उहाँले मधेसी जनतालाई भ्रममा छर्नेहरूबाट जोगिनसमेत आग्रह गर्नुभयो। मधेसमा सबैभन्दा बढी बजेट विनियोजन गरेर विकासको लहर नेकपा एमालेले ल्याएको दाबी उहाँले गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्