स्ववियु निर्वाचनमा सत्ता साझेदार दलबीच गठबन्धन



हेटौंडा, (नेस)
मकवानपुरमा रहेको विभिन्न क्याम्पसको स्ववियु निर्वाचनमा देशको राजनीतिक सत्ता साझेदार दल नेपाली कांगे्रस, नेकपा माओवादी केन्द्र र राप्रपाका विद्यार्थी संगठनबीच गठबन्धन जुट्ने भएको छ। शनिबार विभिन्न क्याम्पसमा भएका मनोनयन दर्तापछि गठबन्धन जुट्ने निश्चित देखिएको हो।

शनिबार शान्तिपूर्णरूपमा सम्पन्न मनोनयन दर्तापछि यहाँका क्याम्पसहरू मनहरी बहुमुखी क्याम्पस, निर्मल बहुमुखी क्याम्पस, फरस्ट्री क्याम्पस, हेटौंडा क्याम्पस, मकवानपुर बहुमुखी क्याम्पस, वंशगोपाल बहुमुखी क्याम्पस र पालुङ बहुमुखी क्याम्पसमा तीन दलका विद्यार्थी संगठनबीच गठबन्धन पक्का भएको छ।

ती क्याम्पसमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु र नयाँ शक्तिको विद्यार्थी संगठनले छुट्टै प्यानल बनाएर उम्मेदवारी दिएका छन्। अध्यक्षमा उम्मेदवारी दिनेमध्ये मकवानपुर बहुमुखी क्याम्पसमा कुमारबहादुर केसी, निरबहादुर सिन्तान, श्रवणकुमार बर्तौला र लक्ष्मीकान्त पौडेल छन्। सचिवमा आकाश अधिकारी, शशिकला सिन्तान, अमृत बर्तौला र सविना लामाले उम्मेदवारी दिएको क्याम्पसले जनाएको छ।

हेटौंडा क्याम्पसमा अध्यक्षका लागि अनेरास्ववियुका उमेश पुरी र संयुक्त विद्यार्थी संगठनका तर्फबाट सुदीप बर्तौलाले उम्मेदवारी दिएका छन्। सचिवमा नवीनकुमार मिश्र र पूर्णबहादुर नेपालीले उम्मेदवारी दिएका छन्। जसमध्ये मिश्र अनेरास्ववियु र नेपाली संयुक्त विद्यार्थी संगठनका हुन्। कोषाध्यक्षमा मनोज सुनार र ज्ञानु लामाले उम्मेदवारी दिएका छन्। सुनारले अनेरास्ववियु र लामाले संयुक्त प्यानलबाट उम्मेदवारी दिएका हुन्।

वनविज्ञानमा अध्यक्षका लागि विमल केसी खत्री, पवनकुमार खरेल, मनोज सुवेदी, जीवन पोखरेल र हेमचन्द्र जोशी, सचिवमा विक्रम सिंह, पदमप्रसाद जैसी र सन्देश घिमिरे छन्। कोषाध्यक्षमा सुस्मिता हमाल, सलिना राई र सिलि घिमिरेले उम्मेदवारी दिएका छन्। जसमध्ये राई मोहन वैद्यनिकट विद्यार्थीबाट, हमाल संयुक्त प्यानलबाट र घिमिरेले अनेरास्ववियुबाट उम्मेदवारी दिएका हुन्।

जिल्लाका ५ क्याम्पसमध्ये हेटौंडाको मकवानपुर बहुमुखी क्याम्पसमा सबभन्दा बढी मतदाता छन्। उक्त क्याम्पसमा २ हजार २ सय १९ जनाले मत हाल्न पाउनेछन्। मकवानपुर क्याम्पसले निर्वाचन कार्यतालिकाअनुसार काम गरिरहेको निर्वाचन अधिकृत उदयनाथ अधिकारीले जानकारी दिनुभयो।

हेटौंडा क्याम्पसमा ५ सय ५४ विद्यार्थीको मतदाता नामावली सार्वजनिक भएको छ। वंशगोपालमा १ सय ३० जनाले भोट हाल्न पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्