रैथाने बाली संरक्षण अभियान



नेपाल समाचारपत्र
कालिकोट
जिल्लामा रैथाने बाली संरक्षणका लागि संगठित अभियान थालिएको छ। कर्णाली कृषि तथा खाद्य सरोकार समूह कालिकोटको प्रथम जिल्ला अधिवेशन सम्पन्न गरी जिल्लामा परम्परागत कर्णालीको रैथाने बाली संरक्षण अभियान थालिएको हो।
०६८ सालदेखि कर्णालीको कृषि क्षेत्रको वकालत गर्दै आएको कर्णाली कृषि तथा खाद्य सरोकार समूहको पहिलो अधिवेशनबाट पुनः कालीबहादुर मल्लको संयोजकत्वमा २१ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ। कार्यक्रममा कर्णाली कृषि तथा खाद्य सरोकार समूहका नवनिर्वाचित संयोजक मल्लले कर्णालीको विशेषताअनुसारको कृषि प्रविधिको विकास र कर्णाली अञ्चललाई नै अर्गानिक जोन बनाउन आवश्यक रहेको बताउनुभयो। उहाँले यहाँका रैथाने बालीहरूको व्यवसायीकरणका लागि युवा कृषि उद्यमीहरूले जुट्नुपर्ने बताउनुभयो।

वर्षेनी खडेरीको मार खेपी रहेको कालिकोट जिल्लामा पुख्र्यौली बालीहरू लोप हुन थालेपछि कालिकोटका कृषक तथा कृषि सरोकारवाला संगठित भएर रैथाने बाली संरक्षण अभियान थालिएको कर्णाली कृषि तथा खाद्य सरोकार समूहका क्षेत्रीय संयोजक मायालाल महत्तराले बताउनुभयो। उहाँले स्थानीय कृषक, जिल्ला कृषि विकास कार्यालय, पत्रकार, नागरिक समाजहरूको सहभागितामा कर्णाली कृषि तथा खाद्य सरोकार समूहलगायतको पहलमा कालिकोटमा परम्परागत बाली फापर, चिनो कागुनो, सिमी, कोदो, उवा, मार्सेलगायतका बालीको संरक्षणका लागि अभियान थालिएको बताउनुभयो।

कर्णाली कृषि तथा खाद्य सरोकार समूह कालिकोटका संयोजक कालीबहादुर मल्लको अध्यक्षता तथा नेपाल तरुण दलका केन्द्रीय महासचिव भूपेन्द्रजंग शाहीको प्रमुख आतिथ्यतामा भएको कर्णाली कृषि तथा खाद्य सरोकार समूह कालिकोटको प्रथम जिल्ला अधिवेशनमा कृषकहरूले रैथाने बाली संरक्षण अभियानलाई थप प्रभावकारी बनाएर लैजानुपर्ने बताएका छन्। कार्यक्रममा प्रमुख अतिथि तरुण महासचिव भूपेन्द्रजंग शाहीले कर्णालीको सम्वृद्ध र पहिचानसँग जोडिएको कर्णालीमा उत्पादन हुने परम्परागत बालीहरूको संरक्षण संवद्र्धनका साथै प्रचारको आवश्यकता रहेको बताउनुभयो। फापर, चिनो, कोदो, उवा, कालीमार्सी धान, स्याउ, सिमी, ओखर र आरु कर्णालीको सान भन्ने नाराका साथ आयोजित कार्यक्रममा उहाँले कर्णालीका रैथाने बाली फापर, चिनो, कागुनो, सिमी, कोदो, उवा, मार्सेलगायतका बालीहरूको उपयोगिताको बारेमा प्रचारप्रसारको खाँचो रहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्