मध्यपहाडी लोकमार्ग बन्द हुँदा यात्रुलाई सास्ती



रामधन राई, खोटाङ
खोटाङमा स्थानीय तह पुनर्संरचनाअन्र्तगत महुरेगढी गाउँपालिका हटाएर लामीडाँडा बनाएको विरोधमा स्थानीयले पुनः मध्यपहाडी लोकमार्ग बन्द गरेका छन्। महुरेगढी हटाएर सिफारिस नै नगरिएको गाउँपालिका बनाइएको विरोध गर्दै आन्दोलनमा उत्रिएका बुइपा, राजापानी, विजयखर्क र नुनथलाका स्थानीयले महुरेगढी गाउँपालिका कायम गर्न पुनः अनिश्चित कालका लागि सडक बन्द गरेका हुन्।

यसअघि पुस २३ गतेदेखि माघ १८ गतेसम्म सडक बन्द गरेको संघर्ष समितिले आइतबार बिहानदेखि नुनथलाको महुरेमा सडकमै टायर बालेर सडक बन्द गरेका छन्। स्थानीय तह पुनर्संरचनाको अन्तिम टुंगो लगाउन लागिएको बेलामा महुरेगढी गाउँपालिकालाई कायम गर्नका लागि दबाब सिर्जना गर्न सडक बन्द गरिएको संघर्ष समितिका सहसंयोजक दिनेश राईले बताउनुभयो।

सडक बन्दका कारण सदरमुकाम दिक्तेलबाट राजधानी काठ्माडौं, कटारी र गाईघाटका लागि छुट्ने यात्रु तथा मालबाहक सवारी साधन छुट्न सकेका छैनन्। राजधानीलगायतका शहर आवत–जावत गर्ने एक मात्र सडक दिक्तेल–जयराम सडक बन्द भएपछि यात्रुलाई सास्ती भएको छ।

प्रतिक्रिया दिनुहोस्