अञ्चल अस्पतालमा एन्टिरेबिज भ्याक्सिनको अभाव



शिवहरिप्रसाद भट्टराई, राजविराज
बौलाहा कुकुरले टोकेपछि आइतबार गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि आएकी कञ्चनरुप नगरपालिका–९ की राजकुमारी सदा त्यतिबेला निरास बनिन् जब उनलाई थाह भो अस्पतालमा औषधि रहेनछ।

छ दिनअघि गाउँमै कुकुरले टोकेपछि गाउँकै प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि पुग्दा पनि उनलाई यस्तै निराश हुनुपरेको थियो। सदरमुकामस्थित अञ्चल अस्पतालमा समेत एन्टिरेबिज भ्याक्सिन (एआरभी) नहुँदा राजकुमारीका पति विन्देश्वर सदासमेत पत्नीको उपचार कसरी गर्ने भन्ने चिन्ताले व्याकुल छन्। ‘एक भायल औषधिलाई ७ सय रुपियाँ पर्ने र उपचारका लागि ५ भायल किनेर सुई लगाउनुपर्ने डाक्टरले सल्लाह दिएका छन् विन्देश्वरले भने– ‘त्यत्रौ पैसा हामी गरिबले कहाँबाट ल्याउनु?

दैनिक बनिबुतो गरेर सदा दाम्पत्ति गुजारा चलाउँदै गरेका हुन्। ‘यिनलाई कुकुरले टोकेपछि काम गर्न जानसमेत भ्याएको छैन पत्नीलाई देखाउँदै विन्देश्वरले भने– ‘ठाँउ–ठाँउका सरकारी अस्पताल र स्वास्थ्य केन्द्र चहार्दैको हैरानी छ।

समस्या राजकुमारी र विन्देश्वरको मात्र होइन। ६ दिनअघि जमुनी मधेपुरा गाविसमा एकै दिन १० जनालाई बौलाहा कुकुरले टोकेपछि उनीहरूले पनि प्राइभेट औषधि पसलमा एआरभी किनेर उपचार गराइरहेको स्थानीय सूर्यनारायण यादवले बताए।
गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्तालमा इर्मेजेन्सी शाखाका प्रमुख विजयकान्त झाले एक महिनाअघि नै अस्पतालमा रहेको एआरभीको स्टक समाप्त भएको, यस बारे केन्द्रसमक्ष जानकारी दिई औषधि माग गर्दा त्यहाँ पनि नरहेको भनी जवाफ आएको बताए।

प्रतिक्रिया दिनुहोस्