ह्वाइटहाउस संवाददाताहरूको रात्रिभोजमा ट्रम्प सहभागी नहुने



वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्ष ‘ह्वाइट हाउस करेस्पोन्डेन्ट्स एसोसिएसन को तर्फबाट दिइने रात्रिभोजमा आफू सहभागी नहुने बताएका छन्। केही सञ्चार संस्था र ह्वाइट हाउसबीचको खराब हुँदै गइरहेको सम्बन्धलाई ध्यानमा राखी ट्रम्पको उक्त निर्णय आएको हुनसक्ने अनुमान गरिएको छ।

शुक्रबार बीबीसी मात्र नभई न्युयोर्क टाइम्स र सीएनएनसहित थुपै्र प्रमुख सञ्चारमाध्यमका पत्रकारलाई ट्रम्पका प्रवक्ता सन स्पाइसरले प्रेस सम्मेलनमा सहभागी बन्न रोक लगाएका थिए। भेनिटी फेयर पत्रिका र सञ्चार समूह ब्लमबर्ग सञ्चारमाध्यमप्रति ट्रम्पको ब्यवहारलाई लिएर आगामी अप्रिलमा हुने उक्त कार्यक्रमबाट बाहिरी सकेका छन्। राष्ट्रपति ट्रम्पले पटकपटक फर्जी समाचारलाई लिएर सञ्चारमाध्यमहरूको आलोचना गर्दै आइरहेका छन्। ट्रम्पले सञ्चारमाध्यमको एउटा हिस्सालाई अमेरिकी जनताको दुश्मन भएको आरोप लगाएका थिए।

ह्वाइट हाउसको समाचार संकलनमा कार्यरत संवाददाताहरूको संगठन ‘ह्वाइट हाउस करेस्पोन्डेन्ट्स एसोसिएसन ले विगत सय वर्षदेखि हरेक वर्ष राष्ट्रपतिको सम्मानमा रात्रिभोजको आयोजना गर्दै आइरहेको छ र अहिलेसम्म अमेरिकी राष्ट्रपति उक्त कार्यक्रममा सहभागी हुँदै आइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्