स्ववियु निर्वाचनमा सत्ता साझेदार दलबीच गठबन्धन



हेटौंडा,(नेस)। मकवानपुरमा रहेको विभिन्न क्याम्पसको स्ववियु निर्वाचनमा देशको राजनीतिक सत्ता साझेदार दल नेपाली कांगे्रस, नेकपा माओबादी केन्द्र र राप्रपाका विद्यार्थी संगठनबीच गठबन्धन जुट्ने भएको छ । शनिबार विभिन्न क्याम्पसमा भएका मनोनयन दर्तापछि गठबन्धन जुट्ने निश्चित देखिएको हो ।

शनिबार शान्तिपूर्णरुपमा सम्पन्न मनोनयन दर्तापछि यहाँका क्याम्पसहरु मनहरी बहुमुखी क्याम्पस, निर्मल बहुमुखी क्याम्पस, फरेष्ट्री क्याम्पस, हेटौंडा क्याम्पस, मकवानपुर बहुमुखी क्याम्पस, वंशगोपाल बहुमुखी क्याम्पस र पालुङ बहुमुखी क्याम्पसमा तीन दलका विद्यार्थी संगठनबीच गठबन्धन पक्का भएको छ ।

ती क्याम्पसमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु र नयाँ शक्तिको विद्यार्थी संगठनले छुट्टै प्यानल बनाएर उम्मेदवारी दिएका छन् । अध्यक्षमा उम्मेदवारी दिनेमध्ये मकवानपुर बहुमुखी क्याम्पसमा कुमारबहादुर केसी, निरबहादुर सिन्तान, श्रवणकुमार बर्तौला र लक्ष्मीकान्त पौडेल छन् । सचिवमा आकाश अधिकारी, शशिकला सिन्तान, अमृत बर्तौला र सविना लामाले उम्मेदवारी दिएको क्याम्पसले जनाएको छ ।

हेटौंडा क्याम्पसमा अध्यक्षका लागि अनेरास्ववियुका उमेश पुरी र संयुक्त विद्यार्थी संगठनका तर्फबाट सुदीप बर्तौलाले उम्मेदवारी दिएका छन् । सचिवमा नवीनकुमार मिश्र र पूर्णबहादुर नेपालीले उम्मेदवारी दिएका छन् । जसमध्ये मिश्र अनेरास्ववियु र नेपाली संयुक्त विद्यार्थी संगठनका हुन् । कोषाध्यक्षमा मनोज सुनार र ज्ञानु लामाले उम्मेदवारी दिएका छन् । सुनारले अनेरास्ववियु र लामाले संयुक्त प्यानलबाट उम्मेदवारी दिएका हुन् ।

बनविज्ञानमा अध्यक्षका लागि विमल केसी खत्री, पवनकुमार खरेल, मनोज सुवेदी, जीवन पोखरेल र हेमचन्द्र जोशी, सचिवमा विक्रम सिंह, पदमप्रसाद जैसी र सन्देश घिमिरे छन् । कोषाध्यक्षमा सुस्मिता हमाल, सलिना राई र सिलि घिमिरेले उम्मेदवारी दिएका छन् । जसमध्ये राई मोहन वैद्यनिकट विद्यार्थीबाट, हमाल संयुक्त प्यानलबाट र घिमिरेले अनेरास्ववियुबाट उम्मेदवारी दिएका हुन् ।

जिल्लाका ५ क्याम्पसमध्ये हेटौंडाको मकवानपुर बहुमुखी क्याम्पसमा सबभन्दा बढी मतदाता छन् । उक्त क्याम्पसमा २ हजार २ सय १९ जनाले मत हाल्न पाउने छन् । मकवानपुर क्याम्पसले निर्वाचन कार्यतालिकाअनुसार काम गरिरहेको निर्वाचन अधिकृत उदयनाथ अधिकारीले जानकारी दिनुभयो ।

हेटौंडा क्याम्पसमा ५ सय ५४ विद्यार्थीको मतदाता नामावली सार्वजनिक भएको छ । वंशगोपालमा १ सय ३० जनाले भोट हाल्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्