स्ववियु निर्वाचन नबिथोलिने, त्रिवि र विद्यार्थी संगठनबीच सहमति



काठमाडौं, १५ फागुन ।
नेविसंघ सहितका विद्यार्थीहरु र त्रिविबीच स्ववियु चुनावको उम्मेदवारी मनोनयन खुला गर्ने सहमति भएको छ ।

बिहिबार बेलुका भएको सहमति अनुसार क्याम्पसमा लगाइएका ताला खोल्न लगाएर भएपनि तोकिएको मितिमै चुनाव सम्पन्न गराउने निर्णय भएको हो ।

छलफलमा एमालेका विद्यार्थी इन्चार्ज रविन्द्र अधिकारी, अध्यक्ष नविना लामा, कांग्रेसका विद्यार्थी हेर्ने प्रदिप पौडल, अध्यक्ष नैनसिंह महर र माओवादीबाट रमेश मल्ल र अध्यक्ष नरेन्द्र न्यौपाने सहभागी थिए ।
सहमति

त्यस्तै त्रिविले फागुन १८ मै स्ववियु निर्वाचन गर्ने गरी क्याम्पस निर्वाचन समितिले तालिका मिलाई निर्वाचन सम्पन्न गराउन निर्देशन दिइसकेको छ ।

तालिका अनुसार फागुन १४ र १५ गतेका सबै कार्यक्रमहरु १५ र १६ गते विहान साँढे १० बजेसम्म सम्पन्न गर्न त्रिविले सबै क्याम्पसलाई परिपत्र गरेको छ ।

त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव गंगावहादुर मगरका अनुसार उम्मेदवारी मनोनयन सोमबर विहानसम्म हुनेछ ।

उम्मेदवारी मनोनयनका दिन राजधानीका अधिकांश क्याम्पसमा नेविसंघका विद्यार्थीले तालाबन्दी गरेपछि चुनाव प्रभावित भएको छ । त्यस्तै राजधानी बाहिरका पनि धेरै क्याम्पसमा नेविसंघले एकैपटक चुनाव हुनुपर्ने भन्दै ताला लगाएको थियो ।

४ सय भन्दा बढि सामुदायिक क्याम्पसहरुमा चुनाव हँुदैछ । २ नम्बरका धेरै कलेजमा मधेसी मोर्चा आबद्ध विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन् । त्यस्तै विप्लव माओवादीका विद्यार्थीले पनि कतिपय क्याम्पसमा तालाबन्दी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्