निगमको नयाँ जहाजबाट व्यावसायिक उडान



दीपेन्द्र थापा काठमाडौं

नेपाल एयरलाइन्सले मोडर्न आर्क एमए–६० ले शनिबारबाट उडान शुरू गरेको छ। गत महिना ल्याइएको नयाँ चिनियाँ विमानमा प्राविधिक कारण देखाउँदै पूर्वनिर्धारित समयमा उडान हुन सकेको थिएन।

गत मंगलबार उडान भर्ने तयारी गरेको निगमले आन्तरिक कारण र कागजी प्रक्रिया पूरा नभएको भन्दै परीक्षण उडान पछि सार्दै आएको थियो। विमानले पहिलो उडान शनिबार ३ बजे काठमाडौंबाट २२ जना यात्रु लिएर भैरहवा पुगेको थियो। त्यस्तै भैरहवाबाट ५० यात्रु लिएर काठमाडौं फर्किएको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिनुभयो । निगमका नयाँ विमानले पनि पुरानै क्षेत्रमा उडान भर्नेछन्। “नयाँ रुटको तालिका नबनेकाले पुरानै क्षेत्रमा उडान भर्नेछ।” श्रेष्ठले भन्नुभयो–“आन्तरिक उडानमा निगमसँग ७ विमान रहेकोमा हाल ६ वटाबाट नियमित करिब २० वटा क्षेत्रमा उडान भरिरहेको छ।” आन्तरिक उडानमा प्रयोग हुने एउटा विमानमा समस्या आएकाले हाल मर्मतको काम भइरहेको श्रेष्ठले बताउनुभयो।

आन्तरिक उडानमा निगमसँग दुईवटा ट्विनअटर, दुईवटा ५६ सिट क्षमताको एमए ६० र दुईवटा १७ सिट क्षमताको वाई १२ जहाज रहेका छन। सहुलियत ऋणमा निगमले गरेको सम्झौताअनुसार चीन सरकारबाट निगमले केही समय अगाडि मोडर्न आर्क एमए–६० र वाई–१२–ई ल्याएको थियो । संम्झौता अनुरूप अझै दुई वटा वाई १२ ई विमान ल्याउन बाँकी छ र विमान चाँडै आउने निगमको भनाइ छ। थप दुई विमान भित्र्याएपछि निगमसँग आन्तरिक उडानका लागि विमानको संख्या ९ पुग्ने छ। २०७१ वैशाखमा निगमले चीनबाट पहिलो जहाज एमए–६० र कात्तिकमा वाई–१२ ल्याएको थियो।

फेवा नाम दिइएको कल साइन “नाइन एन एकेआर को ५६ सिट क्षमताको नयाँ विमान एमए–६० ले दैनिक काठमाडौं–विराटनगर–काठमाडौं र धनगढी हुँदै सुगम क्षेत्रमा उडान भर्नेछ भने हप्तामा चार दिन (आइतबार, सोमबार, मंगलबार र शुक्रबार) काठमाडौं–भद्रपुर उडान भर्नेछ। यस्तै एमए–६० ले हप्तामा तीन दिन (बुधबार, बिहीबार र शनिबार काठमाडौं–भैरहवा उडान भर्नेछ।

यस्तै गौंथली नाम दिइएको नाइनएन–एकेटी कल साइनको १७ सिट क्षमताको वाई–१२–ई ले काठमाडौं–पोखरा दैनिक दुई उडान, नेपालगन्ज दैनिक एउटा उडान र काठमाडौं–भैरहवा रुटमा हप्तामा चार दिन (आइतबार, सोमबार, मंगलबार र शुक्रबार) उडान भर्ने निगमले जनाएको छ । वाई–१२–ईको भने परीक्षण उडानको आन्तरिक गृहकार्य भइरहेको निगमको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्