हिमालको जडिबुटी तराईतिर



नेपाल समाचारपत्र
मुगु
जिल्लाको उच्च हिमाली क्षेत्रमा संकलन भएको विभिन्न प्रजातिको जडिबुटी तराईतिर निर्यात हुन थालेको छ। रोवा, माग्री, मुगु, पुलु, डोल्फ, रुगा, पिना, कालै, धैनकोट, खमाले, गम्था गाविसको हिमाली क्षेत्रमा संकलन गरिने अत्तिस, कटुकी, चिराइतो, पदमचाल, भोल्तेलगायत जडिबुटी तराई पस्ने गरेको छ।
मोटर बाटो पुगेपछि संकलन गरिएको जडिबुटी गाडीद्वारा तराईतिर निर्यात हुन थालेको छ। विगत वर्षहरूमा ढुवानीको समस्याले जिल्लामै थन्किने गरेको जडिबुटी अचेल सहज रूपमा तराई झर्न थालेको छ। जिल्ला वन कार्यालयको तथ्यांकअनुसार गत साउनदेखि पुस समान्तसम्म कटुकी २९ हजार केजी, जटामासी १५ हजार १ सय २२ केजी, पदमचाल ८ हजार केजी, पाखनवेद ६ हजार केजी तराई निर्यात भएको छ।

विषजरा २ हजार ३ सय केजी, धुपीपात ५० केजी, अत्तिस ६ सय केजी, चिराइतो ६ सय ६० केजी, साधारण च्याउ ८ सय ९० केजी, सतुवा २० केजी, बानलसुन १ सय १४ केजी निकासी भएको छ। काँकडसिलो १ हजार ५ सय ५० केजी, सुगन्धवाल १ हजार ६ सय ३० केजी गरी कुल ६ सय ४६ क्विन्टल जडिबुटी सतही मार्गबाट नेपालगन्ज हँुदै भारततिर निकासी भएको छ। कटुकी, अत्तिस, जटामासी विषजरा, चिराइतोलगायत जडिबुटी संकलनका लागि जिल्ला वन कार्यालयबाट ११ हजार ५ सय क्विन्टलको इजाजत संकलन पुर्जी व्यापारीले लिएका पाइएको छ।

सडकले गर्दा संकलन भएको जडिबुटी सहजै तराई निर्यात हुन थालेको निमित्त जिल्ला वन अधिकृत द्रोणविक्रम कार्कीले बताए। ढुवानीको सहजले जडिबुटी संकलनमा उत्साह बढेको छ। यो चालू आर्थिक वर्षको ६ महिनाभित्रै जडिबुटीबाट करिब १७ लाख राजस्व संकलन भएको कार्कीको भनाइ छ। असार मसान्तसम्म दोब्बर राजस्व संकलन हुने आशा गरेको उनको भनाइ छ।

जिल्ला वन कार्यालय जडिबुटी संकलनमा मापदण्ड लागू गरेको छ। तोकिएकोभन्दा बढी जडिबुटी संकलन गर्न नपाइने भएको छ। जडिबुटी संरक्षणको निम्ति मापदण्ड बनाएको वन कार्यालयको भनाइ छ। कटुकी ३८ हजार ३ सय ५० केजी, जटामासी ४२ हजार २ सय, पदमचाल २९ हजार ६ सय, चिराइतो ५ हजार ४ सय ६०, सतुवा ७ हजार ३ सय ५०, केजीभन्दा बढी संकलन गर्न नपाइने मापदण्ड बनाएको छ।

प्रतिक्रिया दिनुहोस्