मोसुलको विमानस्थलमाथि सरकारी सेनाको कब्जा



बग्दाद, (एजेन्सी)
इराकको दोस्रो ठूलो शहर मोसुललाई इस्लामिक कट्टरपन्थी आईएसको नियन्त्रणबाट मुक्त गर्ने सैन्य अभियानमा अगाडि बढिरहेका इराकी सुरक्षा बलले त्यहाँको हवाई अड्डालाई कब्जा गर्न सफल भएका छन्।
इराकी सेनाको उक्त अभियानका लागि यसलाई महत््त््वपूर्ण मानिएको छ। जिहादीसँगको झडपपछि उनीहरू एउटा नजिक रहेको सैनिक अड्डामा पनि प्रवेश गरेको इराकी सैन्य प्रवक्ताले बताए। सरकारी सेनाले अब मोसुलको पूर्वी र दक्षिण पश्चिमको धेरैजसो इलाकामा नियन्त्रण गरिसकेका छन्। शहरको पूर्वी हिस्सालाई गत हप्ता कब्जामा लिएको थियो।

हवाई अड्डाको पश्चिमी हिस्सामा अहिले पनि कट्टरपन्थीहरूको नियन्त्रण रहेको छ। विमानस्थलको प्रमुख भवन र धावनमार्ग ध्वस्त भइसेकेको जनाइएको छ। जिहादीहरू विमानस्थल छोडेर पश्चिम मोसुलको आवादी रहेको इलाकामा गएका छन्। त्यस क्षेत्रमा हुने भिडन्त कठिन हुने पर्यवेक्षकहरूले बताएका छन्।

पश्चिमी मोसुलको पूर्वी हिस्सा आकारमा सानो भए पनि घना आवादी भएको इलाका हो र यस्ता इलाकाहरूलाई आईएस समर्थक मानिन्छ। यसबीच संयुक्त राष्ट्रले शहरमा फसेका आम नागरिकलाई लिएर चिन्ता व्यक्त गरेको छ। च्यारिटी संस्था सेव द चिल्ड्रेनले मोसुलमा ८ लाख नागरिक फसिरहेको जनाएको छ। शहर तथा यसको वरपरको इलाकाबाट डेढ लाखभन्दा धरै नागरिक घर छोडेर भागिसकेका छन्।

संयुक्त राष्ट्र संघले जनवरीमा मोसुलमा मारिएका मध्ये आधा आम नागरिक भएको बताएका थिए। आईएस जिहादीले सन् २०१४ मा इराकको उत्तरी र पश्चिमी हिस्सामाथि कब्जा गर्दै मोसुललाई आफ्नो नियन्त्रणमा लिएका थिए।

प्रतिक्रिया दिनुहोस्