मधुरो तारालाई परिक्रमा गर्दै पृथ्वीजत्रा सात ग्रह



पासाडेना, (एजेन्सी)
अमेरिकाको हवाइ तथा अन्तरिक्ष एजेन्सीका वैज्ञानिकहरूले एउटा ताराको वरिपरि परिक्रमा गरिरहेका पृथ्वी आकारका सातवटा ग्रह पत्ता लगाएका छन्। कुनै एउटा तारा वरपर फेला परेका यो ग्रहको संख्या आफैंमा कीर्तिमान हो।

सौर्य मण्डलबाहिर पहिलोपटक सन् १९८८ मा पहिलो ग्रहको खोज भइपछि यता ३ हजार ५ सय भन्दा धेरै ग्रह फेला परिसकेका छन्। तीमध्ये १६ वटाभन्दा धेरै ग्रहहरू यस्ता छन् जसमा जीवन सम्भव हुनसक्ने अनुमान गरिएको छ।

वैज्ञानिकहरूले ती सातैवटा ग्रहको सतहमा यसका अन्य विशेषताका आधारमा पानी हुन सक्ने बलियो सम्भावना रहेको बताएका छन। तीमध्ये पनि तीनवटा ग्रहमा जीवनको सम्भावना समेत रहेको र यो जीव बासस्थानका लागि उपयुक्त भएको पनि उनीहरूले बताए। ती ७ ग्रह ट्य्रापिस्ट–१ नामक ताराको वरपर रहेका छन्। यो तारा पृथ्वीबाट ४० प्रकाशवर्ष दूरीमा अवस्थित छ। यो आकारमा सानो र चिसो तारा हो।

नासाको स्प्लिटजर अन्तरिक्ष दूरबिन र अन्य विभिन्न स्थानमा भएका बेधशालाको मद्दतबाट ती ग्रहहरू खोजिएको नेचर पत्रिकामा प्रकाशित लेखमा उल्लेख गरिएको छ। यसअघि केपलर दूरबिनले मात्रै सौर्यमण्डलबाहिर १ सय ४ तारा पत्ता लगाइसकेका छन्।

बेल्जियम युनिभर्सिटी अफ लेजका चर्चित लेखक माइकल गिल्लनले भने– ती सबै ग्रह एक अर्काको नजिक छन्। साथै ती सातैवटा ग्रह आफ्नो ताराको अन्त्यन्त नजिक छन्। उनीहरूको स्थिति बृहस्पति वरिपरिका चन्द्रमाको अवस्थासँग मिल्दोजुल्दो छ। तारा चिसो र आकारमा सानो भएकोले ती ७ वटै ग्रहको तापमान समसितोष्ण हुनुपर्ने अनुमान गरिएको छ। यसको अर्थ त्यहाँ तरल पानी हुनसक्छ। त्यहाँको सतहमा जीवन सम्भव हुन सक्ने पनि माइकलले बताए।

ट्य्रापिस्ट–१ का तीनवटा ग्रह परिभाषाअनुसार पारम्पारिक आवासीय क्षेत्रमा पर्छ। तिनीहरूको सतहमा पर्याप्त वायुमण्डलीय दबाबका कारण पानी हुन सक्ने जनाइएको छ। नयाँ खोजलाई लिएर वैज्ञानिकहरू यो पृथ्वीको आकास जस्तो हुनुले मात्र उत्साहित भएका होइनन् , ट्य्रापिस्ट–१ अत्यन्त सानो धमिलो तारा हो। त्यसैले दूरबिनको सहयोगबाट ती ताराको अध्ययनमा अन्य चम्किला ताराको अध्ययनका क्रममा भन्दा कम समस्या झेल्नुपर्ने जनाइएको छ।

यसले अब अत्यन्त टाढाको ती जगत र त्यसको वायुमण्डलको बारेमा अध्ययन गर्ने नयाँ अवसर मिलेको जनाइएको छ। सोधको अर्को चरण शुरू भइसकेको छ। यसले ग्रहको सतहमा भइरहेका हलचल र परिवर्तनका बारेमा प्रमाणहरू प्राप्त हुनसक्छ।

प्रतिक्रिया दिनुहोस्