गुम्बा पुनर्निर्माणका लागि २ करोड २४ लाख



सोलुखुम्बु, (नेस)
सोलुखुम्बु जिल्लास्थित ४८ गुम्बा पुनर्निर्माणका लागि आवास तथा पुनर्निर्माण प्राधिकरणले २ करोड रुपियाँ उपलब्ध गराएको छ। विसं २०७२ साल वैशाख १२ गतेको भूकम्प र त्यसपछिको पराकम्पका कारण भत्किएका गुम्बाहरूको पुनर्निर्माण तथा मर्मतका लागि बजेट प्राप्त भएको स्थानीय विकास अधिकारी कृष्णप्रसाद सापकोटाले बताए।

यसअघि सरकारले संकलन गरेको तथ्यांकका आधारमा ती गुम्बाहरूको पुनर्निर्माणका लागि प्राधिकरणले पहिलो चरणमा २ करोड २४ लाख रुपियाँ बजेट जिल्ला विकास समितिको खातामा जम्मा गरिदिएको स्थानीय विकास अधिकारी सापकोटाले बताए। सोलुखुम्बुको गुम्बा पुनर्निर्माणका लागि करिब १२ करोड रुपियाँ रकम छुट्याइएको भए पनि कार्य प्रगतिका बारेमा थप बजेट प्राप्त हुने गरी प्राधिकरणले बजेट पठाउने सापकोटाले बताए। बौद्ध धर्मावलम्बीहरूको पवित्र धार्मिक स्थल मानिने सोलुखुम्बुका अधिकांश गुम्बाहरू भूकम्पले क्षति पुर्याएको थियो।

तथ्यांकमा समेटिएका गुम्बाको व्यवस्थापन समितिका पदाधिकारीहरूले आफ्नो गुम्बाको पुनर्निर्माणका लागि लगत स्टमेट तयार पार्न प्राविधिक कार्यालयमा निवेदन दिइरहेको जिल्ला प्राविधिक कार्यालयका प्रमुख पुष्करप्रसाद पोख्रेलले बताए।

प्रतिक्रिया दिनुहोस्