माग पूरा नभए स्वास्थ्य क्षेत्र ठप्प पार्ने चेतावनी



गुल्मी, (नेस)
स्वास्थ्य सेवा ऐनको दफा ९ ‘ख’ कार्यान्वयन तथा पद व्यवस्थापनको माग गर्दै गुल्मी जिल्लाका स्वास्थ्यकर्मीले जिल्ला जनस्वास्थ्य कार्यालयमा तालाबन्दीसँगै पत्रकार सम्मेलन गरी आन्दोलनबारे थप जानकारी गराएका छन्।

केन्द्रीय संयुक्त ट्रेड युनियनको निर्देशित कार्यक्रमअन्तर्गत स्वास्थ्यकर्मी जनस्वास्थ्य कार्यालयमा तालाबन्दी गरी धर्ना बस्दै आएका हुन्। गुल्मी जिल्लामा क्रियाशील स्वास्थ्यकर्मीले बिहीबार पत्रकार सम्मेलन गरी समस्या समाधानका लागि ट्रेड युनियनकर्मी पनि अत्यन्त जिम्मेवारीका साथ धैर्यतापूर्वक प्रस्तुत हुँदा पनि मन्त्रालयले विभिन्न समयमा छलफल र प्रतिबद्धता जनाउने काम मात्र गरेकोप्रति आपत्ति जनाएका छन्।

छलफलका नाममा अल्मल्याई आन्दोलनकारीलाई थकाउने र गलाउने नीति लिएकाले सशक्त आन्दोलन गर्नुको विकल्प नभएपछि बाध्य भएर चरणबद्ध रूपमा देशव्यापी आन्दोलनको शुरुआत गरिएको पत्रकार सम्मेलनमार्फत् जानकारी गराएका छन्। मन्त्रालयले समस्या समाधान गर्नुको सट्टा पीडित स्वाथ्यकर्मीलाई पलायन गराउने र स्वास्थ्य संस्थालाई स्वास्थ्यकर्मीविहीन बनाई स्वाथ्य क्षेत्र अस्तव्यस्त हुने गर मन्त्रिपरिषद्बाट निर्णय गराई समस्या झन् बल्झाइएको आन्दोलन समितिका संयोजक नारायण अर्यालले जानकारी दिए।

नयाँ स्वास्थ्य नीतिअनुसार स्वास्थ्य चौकीमा मेडिकल अधिकृतसहितको संरचना बनाएर गुणस्तरीय स्वास्थ्य सेवा जनतामा प्रवाह गर्नुको सट्टा भएको अनुभवी जनशक्तिलाई समेत विस्थापित गरेर स्वाथ्य सेवा लथालिंग पार्ने प्रयास गरिएको उनीहरूको आरोप रहेको छ।

स्वास्थ्यकर्मीले चालू आन्दोलनलाई बेवास्ता गरी समस्या समाधान नगरिएमा अझ सशक्त आन्दोलनका कार्यक्रम अगाडि बढाउन बाध्य हुने समेत चेतावनी दिएका छन्। गुल्मीको आन्दोलनमा नेपाल स्वास्थ्यकर्मी युनियन, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल, स्वास्थ्यकर्मी युनियन नेपाल, अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठन गुल्मीले संयुक्त रूपमा आन्दोलन गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्