शुरु भयो सम्झौता कार्यक्रम, स्थानीयहरु खुशीले गद्गद्



मोतीराम तिमल्सिना
काभ्रेपलाञ्चोक,फागुन १२ ।

जिल्लाका दुई गाविस भुम्लुटार र फलाँटेमा भुकम्प गएको २१ महिना वितिसक्दा समेत भुकम्प पीडितहरुसँग सम्झौता हुन नसकेपछि भएको पटक पटकको संवाद र छलफल निश्कर्षमा पुगेको छ । दुई गाबिसमा ९ सय ५६ भुकम्प पीडितहरुसँगको सम्झौता प्रजिअ शिव सिंखडाको टोलीले गाउँमै पुगेर विहिबार शुरु गरेको छ ।

सम्झौता गर्न प्रमुख जिल्ला अधिकार शिव सिंखडा, स्थानीय विकास अधिकारी टेकराज निरौला, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका जिल्ला प्रमुख धुर्व गैडा, भुमि अधिकार मञ्चका अध्यक्ष रामबहादुर तामाङ, दुई गाउँ विकास समितिका सचिवहरु गाउँमै पुगेका थिए । पटक पटकको संवाद पछि राष्ट्रिय पुननिर्माण प्राधिकरणले उक्त गाविसका लागि कार्याविधि नै शंशोधन गरेको थियो ।

शंशोधन पछि जिल्लामा रहेका अन्य क्षेत्रका भुकम्पपीडितहरुसँग पनि सम्झौता हुनेछ । बन क्षेत्र, सरकारी र सार्वजनिक जग्गामा बसेका बाहेक जग्गाको निस्सा भएर पनि लालपुर्जा नभएका भुकम्प पीडितहरुलाई मुचुल्का र निस्साका आधारमा सम्झौता गर्ने निर्णयसँगै सम्झौता शुरु भएको हो । यस अघि माघ २८ गते शुक्रबार प्रजिअ सिंखडाको टोलीले भुम्लुटार र फलाँटे गाविसमै पुगेर स्थनीयहरुसँगको संवादमा तत्काल सम्झौता गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको आयोजना तथा द एशिया फाउण्डेशनको आर्थिक सहयोगमा जिल्लामा संचालन भएको सामुदायिक मेलमिलाप कार्यक्रम अन्र्तगतको संवाद समुहले उक्त गाविसका भुकम्प पीडितहरुको समस्याका बारेमा पटक पटक संवाद आयोजना गरेको थियो । सोहि संवाद तथा विभिन्न छलफलको माध्यमबाट दुई गाविसका भुकम्प पीडितहरुसँग सम्झौता गर्न सम्भव भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका जिल्ला प्रमुख धुर्व गैडाले जानकारी दिए । सम्झौता शुरु भए सँगै भुकम्प पीडितहरु खुशीले गद्गद् भएका छन् ।

सामुदायिक मेलमिलाप कार्यक्रम जिल्ला संयोजक सरिता सापकोटाले जिल्लामा भएका यस्ता खालका समस्या तथा विवादमा संवाद मार्फत समाधान खोज्न कार्यक्रम शुरु भएको जानकारी दिईन् ।

२०३२ सालमा नापि हुँदा तत्कालिन पिपलटार गाविसबाट विभाजन भएका भुम्लुटार र फलाँटे गाविसका अधिकांश ब्यक्तिहरुसँग लालपुर्जा छैन । लालपुर्जा नभएपछि भुकम्प पीडितको लाभग्राहि सूचीमा परेर पनि सम्झौता गर्न नपाएका भुकम्प पीडितहरुले पटक पटक आफ्ना आवाजहरु जिल्ला देखि केन्द्रसम्म पु¥याउँदै आएका थिए । त्यहि विषयमा जिल्लामा गठन भएको संवाद समुहले पनि पटक पटक छलफल गरेको थियो । प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपाल मार्फत सामुदायिक मेलमिलाप कार्यक्रम अन्र्तगत गठित संवाद समुहले पीडित र सरोकारवालाहरुसँग संवाद गराउँदै आएको थियो ।

सोहि संवाद पछि तत्कालिन गुनासो अधिकृत एवं राष्ट्रिय पुननिर्माण प्राधिकरणका उप सचिव धुर्व गैडाले अनुदान सम्झौताको कार्याविधी नै शंशोधन गर्न पहल गरेका थिए । गैडा हाल राष्ट्रिय पुनर्निमार्ण प्राधिकरण काभ्रेका प्रमुख छन् । भुम्लुटार गाउँ विकास समितिमा ५ सय ८९ घर धुरी भुकम्प पीडित रहेका छन् भने फलाँटे गाविसमा ३ सय ६७ घर धुरी पीडित छन् ।

प्रतिक्रिया दिनुहोस्