संशोधन प्रस्ताव पारित हुन्छ, मन्त्री नायक



काठमाडौँ, १२ फागुन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव पास भएरै छाड्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले मुलुकलाई निर्वाचनमार्फत निकास दिन संशोधन प्रस्ताव पारित हुने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री नायकले भन्नुभयो – “संविधान संशोधनका लागि मधेसी मोर्चा र नेकपा (एमाले) दुवैले आ–आफ्नो अडान छाड्नुपर्छ ।”

मन्त्री नायकले स्थानीय तह पुनःसंरचना आयोग र निर्वाचन आयोगसँग छलफल गरी निर्वाचन मिति घोषणा गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो – निर्वाचन गर्नुपर्छ, हुन्छ भन्ने मान्यताअनुसार सबै दल अगाडि बढ्नुपर्दछ ।

नेपाली काँग्रेसका नेता फरमुल्लाह मन्सुरले हिमाल, पहाड, तराई सबै क्षेत्रका जनतालाई संविधानको अपनत्व होस् भन्नका लागि संशोधन आवश्यक भएको उल्लेख गर्दै संविधान निर्माणका क्रममा नै नपुगेका कुरा संशोधन गर्दै लैजान सकिन्छ भन्ने कुरालाई सबै राजनीतिक दलले स्मरण गर्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा (एमाले)का नेता रघुवीर महासेठले संविधान संशोधन प्रस्तावमाथि नेकपा (एमाले) छलफल गर्न तयार रहे पनि सरकारले दर्ता गरेको विधेयक जस्ताको त्यस्तै पास हुन नसक्ने बताउँदै “भाषा र नागरिकताको सवालमा नेकपा (एमाले)लाई स्वीकार छैन ।”

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दिलनाथ गिरीले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव राष्ट्रहित विपरीत रहेको भन्दै यो प्रस्ताव पारित नहुने दाबी गर्नुभयो ।

नेपाल सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले मोर्चाले राखेका मागलाई सम्बोधन नगरे निर्वाचनमा जानुको औचित्य नरहेको बताउँदै मोर्चाले राखेका ११ बुँदे मागप्रति सरकार र प्रमुख प्रतिपक्षी दल गम्भीर हुनुपर्छ भन्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्