विपतमा परेर चार सय त्रिचालीसको मृत्यु, गृह मन्त्रालयको जानकारी



काठमाडौँ, १२ फागुन । विगत दश महिनामा विपतमा परेर मुलुकभरी ४४३ जनाको मृत्यु भएका छन् ।

महिला कानुन र विकास मञ्चले आज यहाँ आयोजना गरेको विपत् व्यवस्थापनसम्बन्धी नीति योजना र कानुनी व्यवस्थामाथि “सञ्चारकर्मीसँगको छलफलमा गृह मन्त्रालयका उपसचिव शङ्करहरि अधिकारीले गत वैशाखदेखि माघ मसान्तसम्ममा त्यती जनाको मृत्यु भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार यसै वर्ष ४७ जना बेपत्ता र ७०३ जना घाइते भएका छन् । तीमध्ये सबैभन्दा बढी पहिरोमा परी १४५ जनाको मृत्यु भएको छ । सबैभन्दा कम एक जनाको हावाहुरीबाट ज्यान गएको छ । पहिरो महामारी, बाढी, हावाहुरी, अविरल वर्षा, लेक लाग्नु जस्ता विपत्का प्रकार रहेका छन् ।

अधिकारीका अनुसार २०७२ सालको भूकम्प र अन्य कारणले गर्दा नौ हजार २१७ जनाको मृत्यु, २३६ जना हराएका र २२ हजार ६५२ जना घाइते भएका थिए ।

सोही क्रममा मन्त्रालयको कानुन महाशाखा प्रमुख निर्मला अधिकारीले विपत्सम्बन्धी ऐनको पूर्णरुपमा कार्यान्वयन, खुल्ला स्थानको पहिचान र पूर्वतयारीको समेत व्यवस्थापन गर्नका लागि मन्त्रालयले गृहकार्य गरिरहेको छ भन्नुभयो ।

महिला कानुन र विकास मञ्चका अध्यक्ष एवम् अधिवक्ता मीरा ढुङ्गानाले पूर्व तयारी र विपत्को समयमा आइपरेका कठिनाईलाई सामना गर्नका लागि सरकारले विद्यालयस्तरदेखि नै छुट्टै कक्षा र पठनपाठनको व्यवस्थापनमा विशेष जोड दिनुपर्ने आवश्कता औँल्याउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्